गरिव परिवारमा प्रकृतिको बज्रपात, पहिरोले घर भत्किँदा आमाछोरीको मृत्यु 

गरिव परिवारमा प्रकृतिको बज्रपात, पहिरोले घर भत्किँदा आमाछोरीको मृत्यु 

साकिनेको सुकुम्बासी परिवार। जोति खानलाई आफ्नो जग्गा समेत थिएन। आफ्नो जग्गा नहुँदा स्थानीय मोतिलाल पुनले बसिखान दिएको जग्गामा बस्दै आएको थियो बाटुली नेपालीको परिवार। पहाडको छेउमै बनाएको उक्त घरको भुइतलामा नेपाली परिवार बस्दै आएको थियो।

गएको वर्ष श्रीमान शशीराम नेपाली वितेपछि एक्ली बनेकी बाटुली दुई छोरीहरूलाई स्यारसुरार गर्दै सासुससुरासँग बस्दै आएकी थिइन्। आर्थिक कठिनाइनका कारण लामो समयदेखि उक्त परिवार स्थानीयले एक व्यक्तिले दिएको जग्गा सानो घर बनाएर बस्दै आएको थियो।

घरमा कमाउने श्रीमान वितेपछि थप संकटमा परेको उक्त परिवार गाउँघरमा दैनिक ज्याला मजदूरिसँगै ससुराले कपडा सिलाएर आउने पैसाबाट जिविका चलाउँदै आएको थियो। स्थानीयका अनुसार उक्त परिवारले वृद्ध ससुराले गाउँघरमा कपडा सिलाएर कमाएको पैसा र बुहारीले बुझ्ने एकल भत्ताबाटै दैनिकी टार्दै आएको थियो।

त्यही परिवारलाई मंगलबार राती एउटा बज्रपात प-यो। ठूलो बर्षादका कारण घरमाथिको पहाडबाट पहिरो खस्दा सुतेकी बाटुलील फेरि उठन् पाइनन् । न त उनकी दुई वर्षीय छोरी आयुष्मान नेपाली नै उठिन्। 

राती करिब तीन बजे घरमाथिबाट खसेको पहिरोले पु-यो आमाछोरीलाई। तर, त्यही घरको अर्को कोठामा सुतेका बाटुलीका ससुरा, सासु र साहिला ससुरा भने बाच्न सफल भएको स्थानीय लिलेश जिएमले बताएका छन्।

बुधबार विहान करिव तीन बजे खसेको पहिरोले घर भत्काएपछि ससुरा, सासु र साहिला ससुराले नजिकै रहेको छाप्रोमा रात काटेका थिए। शारिरीक असक्तताका कारण राती ठूलो पानीसँगै खसेको पहिरोले बुहारी र नातिनिलाई पुर्दासमेत कतै खबर गर्न नपाएको बताउने गरेको जिएमले बताएका छन्। 

‘रातीमा खबर गर्नका लागि मोवाइल पनि रहनछ, पहिरोले बाटो नै बन्द भएपछि उहाँहरूले गाउँमा कसैलाई सम्पर्कसमेत गर्न सक्नुभएनछ,’ उनले भने, ‘उज्यालो भएपछि छिमेकीलाई खबर गरेपछि हामीले थाहा पायौ र गएर शव निकालेका हौं।’ उनका अनुसार बाटुलीकी ५ वर्षीया जेठी छोरी मंगलबार मामाघर गएका कारण बाच्न सफल भएकी छिन्।  

आर्थिक समस्यामा परिवार

गतवर्ष छोरा र बुधबार विहान पहिरोका कारण बुहारी र नातिनी गुमाएको नेपाली परिवार आर्थिक समस्यामा परेको छ। गरिवीका कारण वर्षौदेखि अर्काको जग्गामा बस्दै आएको उक्त परिवारको कमाउने छोरोबुहारी नै वितेपछि थप संकटमा परेका हुन्। 

कमजोर आर्थिक अवस्थाका कारण बुहारी र नातिलाई पोष्टमार्टमका लागि शव घोराही ल्याउनका लागि लाग्ने खर्चसँगै अन्त्येष्टिका लागि आवश्यक खर्च स्थानीयले उठाएका छन्। बंगलाचुली गाउँपालिका-५ का वडा अध्यक्ष एनुराज खत्रीलगायतले रकम संकलन गरेर शवलाई पोष्टमार्टमका लागि पठाएको जिएमले जानकारी दिएका छन्।

१४ घर विस्थापित  

यसैविच पहिरोको जोखिम बढेपछि १४ घर बिस्थापित भएका छन्। बंगलाचुली गाउँपालिका- ७ ढाँवाको अधिकांश बस्ती जोखिममा परेपछि त्यहाँ बस्दै आएका १४ परिवार अनेत्र सारिएको हो।

वर्षाका कारण जमीनबाट पानीको मुल फुट्न थालेपछि माटो बगाउने, घरमाथिको ढिस्को तल झर्न थालेपछि घर नै उच्च जोखिममा परेपछि स्थानीय ठाउँ छाडेर अन्यत्र बस्न थालेका छन्। 

ढाँवाका १४ परिवारलाई सो स्थानबाट सुरक्षित स्थानमा सारिएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published.