शनिबारसम्म पानी पर्ने सम्भावना, आज पनि पश्चिममा वर्षा
नेपालमा देशभर मनसुनी वायुको प्रभावका कारण अझै केही दिन वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार गत मंगलबारदेखि सक्रिय मनससुनी गतिविधि आगामी शनिबारसम्म पनि कायमै रहने देखिएको छ।
‘वर्षा हुने क्रम केही घटेको छ, तर शुक्रबार-शनिबारसम्म पानी पर्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘केही क्षेत्रमा भारी वर्षा पनि हुनसक्छ।’
उनका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पूर्वी तराई भूभाग नजिक छ, भने पश्चिममा थोरै दक्षिणतिर गएको छ।
यसले मनसुन पूर्वतिर सक्रिय हुन्छ कि भन्ने अनुमान पनि छ। तर केही दिन यता पश्चिम नेपाल केन्द्रित वर्षा भइरहेको छ। अहिले न्यून चापीय रेखासँगै मनसुनी वायु पनि सक्रिय छ।
बिहीबार पनि प्रदेश ५ र सुदूरपश्चिम केन्द्रित वर्षाको आकलन गरिएको छ। ‘मनसुनी वर्षा देशका कुनै न कुनै ठाउँमा हुन्छ नै। तर, प्रदेश ५ र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ,’ उनले भनिन्।