भारतमा विदेशी विश्वविद्यालयका लागि ढोका खुल्यो

भारतमा विदेशी विश्वविद्यालयका लागि ढोका खुल्यो

भारतले विदेशी विश्वविद्यालयलाई क्याम्पस खोल्न पाउने गरी नयाँ शिक्षा नीति पारित गरेको छ। 

योसँगै अब विश्वका प्रतिष्ठित विश्वविद्यालयले भारतमा आफ्ना क्याम्पस खोल्न सक्ने इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ। 

भारतमा शीर्ष दुई सय विदेशी विश्ववविद्यालयले क्याम्पस खोलेमा मुलुकको उच्च शिक्षाको स्तरमा बढोत्तरी हुने दाबी गरिएको छ। यति मात्र होइन यो कदमले भारतबाट पलायन हुने प्रतिभा रोक्न सघाउ पुग्नेछ।

तर, विदेशी विश्वविद्याललाई देशमा ल्याउने सरकारको यो नीति सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) को यसअघिको घोषणाविपरीत रहेको इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ।

विदेशी विश्वविद्यालयलाई भारतमा अनुमति दिने प्रयास पूर्ववर्ती सरकारले पनि नगरेका होइनन्। तर, भारतमा वामपन्थी नेताहरू मात्र होइन वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ताधारी पार्टीले पनि विरोध गरेका थिए।

सरकारी अधिकारीले यो कदम उठाए- किनकि वार्षिक साढे सात लाख भन्दा धेरै भारतीय विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जान्छन्।

उच्च शिक्षा सचिव अमित खरेले सरकार विश्वका उत्कृष्ट विश्वविद्यालयलाई भारतमा क्याम्पस खोल्न अवसर दिने बताउँछन्।

भारतले नयाँ शिक्षा नीतिबाट शुल्कको अधिकमत सीमा निर्धारण गरिदिएकाले उत्कृष्ट श्रेणीका विश्वविद्यालय भारतमा आउन कठिन हुने आलोचकहरुले बताउने गरेका छन्।


Leave a Reply

Your email address will not be published.