भाटभटेनीको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो
नारायणगढ मुग्लिन सडक खण्डमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकैबाट आज (बिहीबार) बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको हो।
अन्दाजी ७:३० बजेको समयमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको भाटभटेनीको सामग्री बोकेको ना३ख ८९८७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८७ नम्बरको ट्रकसँग ठोक्किएर सो ट्रक त्रिशुलीमा खसेको हो। ट्रकका चालक राजेन्द्र बस्नेत भने हामफालेर बाच्न सफल भएका छन्।
उनको अहिले मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ। ठक्कर दिने अर्को ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।