सुन पुग्यो तोलाको ९९ हजार, अझै बढ्ने संकेत

सुन पुग्यो तोलाको ९९ हजार, अझै बढ्ने संकेत

नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकै दिन थप पाँच सयले बढेको छ।

आज बिहीबार छापावाल सुन तोलाको  ९९ हजारमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। हिजो बुधबार सुनको भाउ तीन सयले बढेर ९८ हजार पाँच सय पुगेको थियो।

मंगलबार ७ सयले बढेर तोलाको ९८ हजार २ सय, सोमबार १ हजार २ सयले बढेर ९७ हजार ५ सय र आइतबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार सुनको भाउ एकै दिन १ हजार ३ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ कायम भएको छ। बुधबार ९८ हजार ६५ रुपैयाँमा किनबेच भउको तेजाबी सुनको भाउ मंगलबार ९७ हजार सात सय ६० थियो।

तेजाबी सुन सोमबार ९७ हजार ६०, आइतबार ९५ हजार आठ सय ६०, शुक्रबार ९५ हजार तीन सय ६५ र बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको भाउ भने स्थिर छ।  बुधबार तोलामा २० रुपैयाँ घेटर १ हजार २ सय २५ मा किनबेच भएको चाँदीको भाउ बिहीबार पनि सोही कायम भएको छ। मंगलबार चाँदी तोलाको एक हजार दुई सय ४५, सोमबार एक हजार दुई सय १०, आइतबार एक हजार एक सय ५५ र शुक्रबार एक हजार एक सय ५० थियो। 

महासंघका अनुसार साउन ६ मा छापावाल सुन तोलाको ९२ हजार ७ सय, ७ मा ९४ हजार, ८ मा ९४ हजार ५ सय, ९ मा ९५ हजार ८ सय, ११ मा ९६ हजार ३ सय, १२ मा ९७ हजार ५ सय र १३ गते ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै चाँदी साउन ६ मा १ हजार ४०, ७ मा १ हजार १ सय ३५, ८ मा १ हजार १ सय ४५, ९ मा १ हजार १ सय ५०, ११ मा १ हजार १ सय ५५, १२ मा १ हजार २ सय १० र १३ गते १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

विश्व काेभिड-१९ काे कारण आक्रान्त भएका बेला अर्थतन्त्र संकुचन भएकाे छ। याे अवस्थामा लगानीकाे वातावरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा दिनहुँ सुनकाे भाउ उकालाे लागिरहेकाे छ।

नेपालमा पनि सुनकाे भाउ केही समय अझै उकालाे लाग्ने अनुमान सुनचाँदी व्यवसायी महासंघले गरेकाे छ।


Leave a Reply

Your email address will not be published.