बैंकमा तरलता बढेपछि २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकमा तरलता बढेपछि २० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता खिच्ने भएको छ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) बढ्दै गएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट  बिहीबार २० अर्ब रुपैयाँ खिच्न लागेको हो। 

कोरोनाका कारण लगानीयोग्य वातावरण नहुँदा अहिले कर्जा प्रवाह न्यून छ, जसकारण बैंकिङ प्रणालीमा दुई खर्बभन्दा बढी तरलता पुगेको छ।

तरलता अधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्न) रिभर्स रिपो जारी गर्ने गर्छ। र, बजारमा तरलता अपुग भएमा रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरिन्छ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको ७ दिने अवधिको रिभर्स रिपो साउन २२ गते परिपक्क हुनेछ।

राष्ट्र बैंकले साउन ८ गते  पनि एक साताका लागि जारी गरेको रिपो बिहीबार परिपक्क भएको छ।

राष्ट्र बैंकले जारी गरेको रिभर्स रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन्।  

सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ।


Leave a Reply

Your email address will not be published.