नुवाकोट दरबारको देवी भैरबी मन्दिरको गजुर स्थापना

नुवाकोट दरबारको देवी भैरबी मन्दिरको गजुर स्थापना

विनाशकारी भूकम्पले क्षतिग्रस्त नुवाकोट दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माणको काम सुरू गरिएको देवी भैरबी मन्दिरमा गजुर राखिएको छ। 

१२ वैशाख २०७२ साल गएको महाभूकम्पले नुवाकोटस्थित साततले दरबार लगायतका सम्पदाहरूमा क्षति पुगेको थियो। भूकम्पले भत्किएको सो मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले २०७३ सालदेखि गरिरहेको छ।

नेपालको इतिहासमा उल्लेख भएअनुसार देवी भैरबीलाई देशको रक्षक मानिन्छ। 

नेपाल–चीन युद्घ हुँदा रणबहादुर शाहले भैरबीको आराधना गरेका र दैवीशक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास गरिँदै आएको छ। 

यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको मानिँदै आएको छ। बहादुर शाहले मन्दिरको प्रवेशद्वारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ।

मन्दिर पुनर्निर्माणको काम भइरहँदा छेवैमा रहेको टहरोबाट पूजाआजा हुँदै आएको छ। मन्दिर पुनर्निर्माण ४ करोड ६३ लाख खर्च गरी निर्माण गरिएको हो। पुरातत्व विभागका विज्ञ कर्मचारीको प्रत्यक्ष निगरानीमा पुरानै स्वरुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ। 

मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य भइरहेको छ भने छाना छाउने काम पनि तीव्र गतिमा भइरहेको छ। देशकै शक्तिशाली शक्तिको रुपमा प्राचीनकालदेखि नै पुजिने भएकोले राष्ट्र प्रमुखहरूले आफ्नो कार्यकाल प्राप्ति गरेपछि देवी भैरबीको पूजा आराधना र आशीर्वाद लिन पुग्ने चलन रहेको थियो।

राज खलकमा भने राजा पटक-पटक पूजा तथा आशीर्वाद लिन पुग्ने गरिएको र गणतन्त्र स्थापनापछि भने यस्तो कार्यतर्फ नेपाल सरकार प्रमुखहरूले वास्ता नगरिएको स्थानीय बताउँछन्।


Leave a Reply

Your email address will not be published.