चितवन राष्ट्रिय निकुञ्जका प्रमुखको सरुवा

चितवन राष्ट्रिय निकुञ्जका प्रमुखको सरुवा

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख नारायण रुपाखेतीको सरुवा भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलका अनुसार रुपाखेतिको विभागमा सरुवा भएका हुन्। 

‘मन्त्रालयबाट साउन १४ गते सरुवा भएको खवर आएको छ,’ महानिर्देशक कंडेलले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको प्रमुखमा अणनाथा बराल जाँदै हुनुहुन्छ।’

बराल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख हुन्। केही वर्षअघि उनी चितवन निकुञ्जकै सहायक वार्डेनका रुपमा कार्यरत थिए।

तीनदिनको फरकमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा भएका रुपाखेतीको आलोचना भएको थियो। साउन १ गते निकुञ्जको लिगलिगे पोष्टका सेनाको कुटपिटबाट राप्ती २ का २४ वर्षीय राजकुमार चेपाङको उपचारको क्रममा साउन ७ गते निधन भएको आरोप छ।

घटनामा अन्य ४ जना युवामाथि कुटपीट भएको थियो। त्यस्तै साउन ३ गते माडीस्थित कुसुमखोलामा रहेका चेपाङको २ घरमा निकुञ्जले आगजनी र हात्ती लगाएर भत्काउने काम भएको थियो। 

यस घटनाको संसदीय समितिमा पनि छलफल भइरहेको छ। जनता, जनप्रतिनिधि, सांसदहरूले विरोध जनाएका छन्।

तर, प्रमुख संरक्षण अधिकृत रुपाखेतिले सरुवा नभएको बताए। अहिलेसम्म मलाई सरुवा भएको थाहा छैन। ‘म अहिले पनि कसरा अफिसमै बसेर काम गरिहेको छु,’ उनले भने, ‘अहिलेसम्म मलाई कुनै पत्र आएको छैन।’


Leave a Reply

Your email address will not be published.