बुद्ध मूर्ति दिने भन्दै १४ लाख ठगी, दुई पक्राउ
भगवान गौतम बुद्धको मूर्ति दिने भन्दै १४ लाख रुपैयाँ ठगेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका-८ का २१ वर्षीय अनिल बानियाँ र रामेछाप मन्थली-२ का ३७ वर्षीय वसन्त श्रेष्ठ छन्।
उनीहरूलाई राजधानीमा विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
उनीहरूले बुद्दको मूर्ति आफूहरूसँग रहेको र उक्त मूर्तिमा आधा किलो सुन छ, किन्ने हो भने २० लाखमा बेच्छौं भनी १४ लाख समेत लिएर एक व्यक्तिलाई ठगेका थिए।
पक्राउ परेकाको साथबाट एक लाख ९५ हजार रुपैयाँ बरामद भएको महाशाखाले जनाएको छ। पक्राउ परेकालाई कारबाही निम्ति महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।