पेस्तोल र नक्कली सुन छोडेर भागेको स्कोर्पियो ललितपुरमा फेला

पेस्तोल र नक्कली सुन छोडेर भागेको स्कोर्पियो ललितपुरमा फेला

१५ किलो नक्कली सुन र दुई थान चाइनिज पेस्तोल छोडेर भागेको स्कोर्पियो ललितपुरमा फेला परेको छ। 

ललितपुरको नख्खिपोटस्थित एउटा घरमा उक्त बा६च ५५१९ नम्बरको स्कार्पियो भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

तीन दिनअघि प्रहरी पछ्याउँदा पेस्तोल र नक्कली सुन फ्याँकेर उक्त स्कोर्पियो बेपत्ता भएको थियो। 

नख्खिपोटको एउटा निर्माणाधीन घरमा प्लाष्टिकले छोपेर राखेको अवस्थामा उक्त स्कोर्पियो बिहीबार अपराह्न भेटिएको परिसर प्रवक्ता डिएसपी राजकुमार केसीले बताए। 

‘उक्त घर कसको हो र किन त्यहाँ राखियो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौं,’ केसीले भने। 

कमलादीस्थित नबिल बैंक छेउमा सेतो बोरामा पेस्तोल र नक्कली सुन छोडेर उक्त स्कार्पियो बेपत्ता भएको भनिएको थियो। 

कमलपोखरी नजिकबाट उक्त स्कोर्पियो भागेपछि प्रहरी पछ्याउँदै गएको थियो। तर, दरबारमार्ग प्रहरीले उक्त बरामद सामग्रीको घटनास्थल परिवर्तन गरेको पाइएको थियो। 

यसबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवको नेतृत्वमा टोली गठन गरिएको छ।


Leave a Reply

Your email address will not be published.