एसपी विष्टले भने : निर्मलाको न्यायका लागि मेरो सम्पूर्ण प्रयास रहनेछ
जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले निर्मला पन्तको न्यायका लागि आफ्नो सबै प्रयास रहने बताएका छन्।
उक्त अदालतले बिहीबार सफाइदिएसँगै एसपी विष्टले संक्षिप्त प्रतिकृया दिँदै उक्त कुरा बताएका हुन्।
'अदालतको फैसला सकारात्मक छ, अदालति कामकारबाहीका चरणहरू बाँकी नै छन्,' उनले भने, 'सफाई पाएसँगै म निर्मला पन्तको न्यायका लागि सकेसम्म प्रयास गर्ने छु।'
कञ्चनपुरमा आफू पदमा रहँदा पनि निर्मलाको न्यायका लागि आफ्नो प्रयास अधिक्तम थियो भन्दै उनले भने- 'अब म आफ्नो लागि गर्ने न्यायको प्रयास सँगसँगै निर्मलाको लागि पनि काम गर्ने छु। निर्मलाले न्याय पाउँनै पर्छ।'
विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो।
अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो।
विष्ट र भट्टलाई २०७५ भदौ ३१ गते निलम्बन गरिएको थियो। त्यसको एक महिनापछि असोज २९ गते प्रधान कार्यालयले विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमा चिठी लेखेको थियो।
सोही चिठीका आधारमा गृहले २०७५ कात्तिक ८ गते विष्ट र भट्टलाई बर्खास्त गरेको थियो।
२०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका-१८ को उखुबारीमा फेला परेको थियो। उक्त बलात्कार-हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।
प्रहरीले उक्त घटनामा गम्भीर लापरबाही गरेको, प्रमाण नष्ट गरेको र यातना दिएको तथा त्यसबेला विष्ट र भट्ट कञ्चनपुरमा कार्यरत् रहँदा सो लापरबाही भएको भन्दै उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो।