पहिरो पीडित परिवारलाई जिल्ला प्रशासनद्वारा ३ लाख सहयोग
दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिनेकामा घरमाथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएका मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङले राहात प्रदान गरेको छ।
जिल्ला प्रशासन कार्यालय दाङले मृतकका परिवारलाई ३ लाख रुपैयाँ नगद प्रदान गरेको हो। जिल्ला प्रशासन कार्यालय दाङको टोली बिहीबार पीडितको घरमै पुगेर राहत रकमसहित अन्य सामग्री उपलब्ध गराएको हो।
बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर एकै घरका आमा छोरीको मृत्यु भएको थियो। कार्यालयले मृतकका ससुरा देविराम परियारलाई उक्त नगद रकम हस्तान्तरण गरेको हो।
यसैगरी नेपाल रेडक्रस जिल्ला शाखा दाङले पनि पिडित परिवारलाई राहात सामग्री उपलब्ध गराएको छ।
सहयोग गर्न बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली ,बंगलुची गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ऐनुराज खत्री , जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अमरराज शर्मा, जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्याललगाएतका टोलीले पीडित परिवारलाई राहत उपलब्ध गराएको हो।