मन्त्रीले रासन किन्ने पसलमै म्याद गुज्रेका सामान, फुटपाथ मिचेर व्यापार

मन्त्रीले रासन किन्ने पसलमै म्याद गुज्रेका सामान, फुटपाथ मिचेर व्यापार

दोकान पुरै भरिएको छ। ठाउँ साँघुरो भएर राख्न ठाउँ नै छैन। त्यही दोकानबाट गण्डकी प्रदेशका मुख्यमन्त्री र केही मन्त्रीको निवासमा रासन पुग्छ। तर मन्त्रीको भान्सामा नुनतेल पुग्ने पसलमै म्याद गुज्रेको सामान र मूल्य बढी लिएको पाइएको छ। 

अनुगमनका क्रममा बुधबार पोखरा राष्ट्रबैंक चोकस्थित आकृति थापा किराना स्टोर्समा पुगेको टोलीले त्यस्तो भेटाएको हो। अनुगमन टोली त्यहाँ पुग्दासम्म मन्त्री, मुख्यमन्त्रीको भान्सामा त्यहीँबाट नुनतेल पुग्छ भन्नेमा बेखबर थियो। पसल सञ्चालकबाटै पछि सबै कुरा थाहा भयो। 

उक्त स्टोर्सबाट चिनी ५ र मुसुरो दाल १० रुपैयाँ बढी मूल्यमा बेचेको पाइएको अनुगमन समिति सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए। म्याद गुज्रिएका वस्तु बिक्री र मूल्यवृद्धिमात्रै होइन, उक्त स्टोर्सले फुटपाथ ओगटेर व्यापार गरेको छ। 

पसल साँघुरो भएपछि सञ्चालकले हिँड्नका लागि बनाइएको फुटपाथमा पाल टाँगेर सामान राखेको पाइएको हो। ‘हिँड्नका लागि बनाइएको फुटपाथ ओगटेर सामान बिक्रीका लागि राखेको देखियो। त्यसलाई तत्काल हटाएर उहाँलाई सम्झायौं,’ सदस्य कोइरालाले भने, ‘म्याद गुज्रेका वस्तु बेच्दैनौं भने पनि त्यस्ता वस्तु राख्न छुट्टै ठाउँ नभएकाले मुखले भने पनि व्यवहारमा त्यस्तो देखिँदैन।’

अनुगमन समितिले पसल सञ्चालकलाई मूल्य सूची देखिने ठाउँमा राख्न, दर्ता नवीकरणका कागजात चुस्त दुरुस्त राख्न, सार्वजनिक पेटी मिचेर सामान नराख्न निर्देशन दिएको छ।

स्टोर्स सञ्चालक मनोजबहादुर थापाले प्रदेशका मुख्यमन्त्री, मन्त्री आफूकहाँबाट मासिक रुपमा पैसा तिर्ने गरी खाद्यान्न लैजाने गरेको बताए। नुनतेल, साबुन लिन मन्त्री निवासका कर्मचारी बेलाबखत आउने गरेको सञ्चालक थापाले बताए। 

उनले भने, ‘छिमेकमा भएकाले त्यहाँको भाइहरू यहीँ आएर खुद्रा सामान लैजानुहुन्छ। चामल भने कहिलेकाहीँ ५ केजीको मात्रै जान्छ। चामल त अन्तैबाट ल्याउनुहुन्छ होला।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कानुनमन्त्री हरिबहादुर चुमान, अर्थमन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतकहाँ आफ्नै पसलबाट खुद्रा सामग्री पुग्ने थापाले बताए। 

राष्ट्रबैंक चोकमा रहेका विभिन्न जुस पसलले पनि फुटपाथ मिचेर व्यापार गरेको पाएपछि अनुगमन टोलिले आउँदो दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन दिएको छ। 

पोखरामा कोरोनाले गर्दा खाद्य सामग्रीको अभाव देखाउँदै मूल्यवृद्धि गरिए पनि कुनै वस्तुको अभाव नरहेको अनुगमन समितिले जनाएको छ। 

समितिका संयोजक गोकुल शर्मा पौडेलले आवश्यक सबै खाद्य वस्तुको पर्याप्त स्टक रहेको बताए। उनले भने, ‘अहिले कतै खाद्य अभाव छैन। कसैले बढी मूल्य लिएको पाए कारबाही हुन्छ।’

म्याद गुज्रिएको बिस्कुट खाँदा बिरामी

पोखरामा म्याद गुज्रिएको बिस्कुट खाँदा ४ बालबालिका बिरामी परेका छन्। पोखरा–५ मालेपाटनस्थित मल्लाजी स्टोर्सबाट मंगलबार बिस्कुट किनेर खाएका स्थानीय २ बालक र २ बालिका बिरामी परेका हुन्। 

अन्नपूर्ण गाउँपालिका घर भइ पोखरा बस्ने प्रेमराज अधिकारीका छोरीहरू १० वर्षे सम्झना,८ वर्षकी सपना र अरु २ बालक पनि बिरामी परेका हुन्। 

बालबालिका बिरामी भएपछि वडा प्रहरी कार्यालय बैदाममा अभिभावकले मौखिक उजुरी गरेका थिए। प्रहरीले त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेललाई जानकारी गराएको थियो। 

खाद्य निरीक्षक पोखरेल बुधबार बिहान अनुगमनमा पुग्दा त्यहाँ ६ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री भेटिएको छ।

पर्वतका भीमप्रसाद आचार्यले सञ्चालन गरेको उक्त पसलमा विभिन्न प्रकारका मिठाइँ, बिस्कुट, कोल्ड ड्रिंक्स लगायत म्याद गुज्रेका सामान भेटिएको खाद्य निरीक्षक पोखरेलले जानकारी दिए। म्याद गुज्रिएका खाद्य सामग्री वडा प्रहरी कार्यालय बैदामले जफत गरेर नष्ट गरेको छ। 

बिस्कुट खाँदा बिरामी परेकाहरू पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख यादव ढकालले बताए। ती बालबालिका मंगलबार अस्पताल भर्ना भएका थिए। 

म्याद गुज्रिएको सामान बेच्ने पसल दर्ता पनि छैन। खाद्य निरीक्षक पोखरेलले भने, ‘पसल दर्ता पनि रहेनछ, १ हप्ताभित्र दर्ता गर्न भनेका छौं। फेरि अनुगमनमा जान्छौं।’


Leave a Reply

Your email address will not be published.