‘आवश्यक तयारीबिनै विद्यालय सञ्चालन गर्नु गलत’

‘आवश्यक तयारीबिनै विद्यालय सञ्चालन गर्नु गलत’

झापाको भद्रपुरमा आवश्यक सुरक्षा सावधानी र तयारी बिनै विद्यालय सञ्चालन गरेपछि नेविसंघले त्यसको विरोध जनाएको छ।

कोरोना  संक्रमण समुदायमा फैलिएको आशंका गरिएको बेला भद्रपुर नगरपालिकाका सामुदायिक तथा निजीमा पठनपाठन सुरु गरिएपछि नेविसंघ झापाले तत्काल रोक्न भनेको हो।

सरकारले शिक्षा क्षेत्रमा स्पष्ट निर्णय गर्न नभ्याउँदै भद्रपुर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाइ सुरु गरेपछि विद्यालय बन्द गर्न नेविसंघले आग्रह गरेको हो।

बिहीबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र शिक्षा इकाई प्रमुखलाई भेटेर नेविसंघ झापा नेतृत्वको टोलीले विद्यार्थीको जीवनमा खेलवाड नगर्न आग्रह गरेको हो।

विद्यालयमा पठनपाठन सुरु भएको सार्वजनिक भएपछि नेविसंघ झापाको टोली  एमरल्ड एकाडेमी, एसएस निकेतन, प्रज्ञा एकाडेमी, विभूति विद्या मन्दिर, इस्ट पोइन्ट अंग्रेजी स्कुललगायतका विद्यालय पुगेको  थियो। त्यहाँ पढाई भएको पाइएपछि अहिलेको अवस्थामा  रोक्न भनिएको हो।  

भौतिक दूरी, माक्स, सेनिटाइजर लगायत प्रयोग नगरेको पाइएको नेविसंघको ठहर छ। भद्रपुर नगरपालिका शिक्षा शाखाले निर्णय गरेरै विद्यालय सञ्चालनमा ल्याइएको हो। 

बिहीबार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत बोलाइएको थियो। विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर तत्काल विद्यालय बन्द गर्न झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई भनेको नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले बताए।

प्रजिअ राना मगर, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला र  समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतलाई भेटेर विद्यालय सञ्चालन नगर्न नेविसंघले भनेको हो।

प्रजिअ रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिएको नेविसंघ झापा सहसचिव मिलन चापागाईंले बताए।

भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रा श्रेष्ठले आचारसंहिता लागु गरेर केही विद्यालयले कक्षा सञ्चालन गरेको जानकारी दिइन्।

‘हामीले माथि पनि सम्पर्क गरेका हौं,’ श्रेष्ठले भनिन् ‘कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रमा आचारसंहिता पालना गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ भने पछि हामीले सञ्चालन गर्न भनेका हौं।’

भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख प्रेम भुजेलले नगरपालिकाले विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय नगरेको  बताए।

निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकासहितको संयुक्त बैठकपछि तयार पारिएको आचारसंहिता पालना गरेर  विद्यालय सञ्चालन गर्न भनिए पनि औपचारिक निर्णय नगरिएको भुजेलको भनाइ छ।


Leave a Reply

Your email address will not be published.