उच्च अदालत जनकपुरका न्यायाधीशमा काेराना

उच्च अदालत जनकपुरका न्यायाधीशमा काेराना

प्रदेश २ मा थप एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरका ५० वर्षीय एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो।

गत साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीको स्वाब संकलन भएको थियो। स्वाब परीक्षण गर्दा ५० वर्षीय न्यायाधीशमा कोरोना पुष्टि भएको अदालत स्रोतले जनाएको छ। संक्रमित भएको रिपोर्ट आएलगत्तै उनलाई आइसोलेसनमा भर्ना गरिएको छ।

न्यायाधीशमा कोरोना पुष्टि भएपछि निश्चित कामकारबाहीबाहेक अन्यकाम शुक्रबारदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ।

‘उच्च अदालत जनकपुरका एकजना न्यायाधीशज्यूमा कोरोना पोजिटिभ देखिएको र अस्पतालका विज्ञ डाक्टरका अनुसार प्रदेशभर कोरोना संक्रमणको गति तिव्र रुपमा फैलिइरहेकोले उच्च अदालत जनकपुर, धनुषा जिल्ला अदालत, उच्च तथा जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग भएको छलफलमा लकडाउनको अवधिमा गरिँदै आइएका निश्चित कामकारबाहीबाहेकका अन्य काम कारबाही शुक्रबारदेखि श्रावण मसान्तसम्म स्थगन गर्ने भनी सर्वोच्च अदालतमा अनुरोध गर्ने निर्णय भएको,’ अदालतले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको थियो।


Leave a Reply

Your email address will not be published.