बालगृहलाई राइजिङ क्लबको सहयोग

बालगृहलाई राइजिङ क्लबको सहयोग

भैरहवामा रहेको सिद्धार्थ बालगृहलाई राइजिङ क्लब नेपालले सहयोग गरेको छ। क्लबले बालगृहलाई १२ थान झुल र आर्थिक सहयोग गरेको हो।

क्लबले त्यहाँ रहेका बालबालिकासँग सामूहिक भोजन समेत गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए।

जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले सामाजिक क्षेत्रमा क्लबको योगदान महत्त्वपूर्ण रहेको जनाए।

उनले यस्ता सामाजिक संस्थाको सानो सहयोगबाट बालबालिकाको पठनपाठन र जीवन यापनमा ठूलो योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

सिद्धार्थनगर १२ का वडा सदस्य सरोज ठकुरीले संघसंस्थाको सहयोगबाट चलेको बालगृहमा आएर सामूहिक भोजनका साथै सहयोग गर्ने क्लब परिवारप्रति विशेष आभार व्यक्त गरे।

बालगृहकी संचालक कृष्णामाया गुरुङले यस्ता धेरै संघसंस्थाको सहयोगबाट नै आफूलाई संस्था संचालनमा टेवा पुगेको बताइन्। उनले अन्य स्रोत केही नभएकाले विशुद्ध सामाजिक सहयोगबाटै बालबालिकाको खानपान र पठनपाठन गराउँदै आएको जनाइन्।

आउँदा दिनमा समेत हातेमालो गर्न उनले क्लबलाई आग्रह गरिन्।

बालगृहमा १९ बालबालिका छन्। उनीहरूको पालनपोषण र पठनपाठनमा भैरहवा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published.