अर्थतन्त्र सम्हाल्न हम्मेहम्मे

अर्थतन्त्र सम्हाल्न हम्मेहम्मे

कुरो प्राचीनकालीन इतिहासजस्तो लागे पनि कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण संसारभरको अर्थतन्त्र ठप्प भएको धेरै समय बितिसकेको छैन। 

धेरैले कोभिड–१९ महामारीमा अर्थतन्त्रले थोरै समय आराम गरेर पछि अङ्ग्रेजी वर्ण ‘भी’ आकारमा पुनः स्थापना हुने अनुमान गरेका थिए। दुई महिनापछि अर्थतन्त्र जहाँ फसेको थियो, त्यहीँबाट उचाइ लिने अपेक्षा गरिएको थियो।

यस्तै अनुमानमा सबैले चित्त बुझाएका थिए। तर, आज हामी जुलाई महिनामा छौं। ‘भी’ आकारको पुनः स्थापना आज ‘मनको लड्डु’ बनेको छ। महामारीपछि अर्थतन्त्रको पुनः स्थापना महामारी सम्हाल्न धौधौ भएका देशजस्तै अमेरिकामा मात्र होइन, महामारीलाई राम्ररी व्यवस्थापन गरेका देशको निम्ति पनि हम्मेहम्मे भएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२१ अन्त्यसम्ममा संसारको अर्थतन्त्र मुस्किलले २०१९ अन्त्यतिरको अर्थतन्त्र जतिमात्र ठूलो हुने अनुमान गरेको छ। अमेरिका र युरोपेली देशको अर्थतन्त्र त अझ २०१९ को दाँजोमा चार प्रतिशतले खुम्चिने अनुमान गरिएको छ।

अहिलेको आर्थिक अवस्थालाई दुई तहमा बुझ्न सकिन्छ। वृहत अर्थतन्त्रले हामीलाई अब खर्च घट्ने बताउँछ। त्यसले परिवार र व्यापारिक एकाइ (फर्म) को आम्दानी घटाउने छ। जसले धेरैलाई टाट पल्टिएको अवस्थामा पुर्याउने छ। व्यापारिक एकाइको सांगठनिक र अभौतिक पुँजी ध्वस्त बनाउँछ।

महामारी र त्यसपछिका नीतिगत समाधानको अनिश्चयले व्यापारिक एकाइलाई बलियो पूर्वसावधानीका कदम चाल्न बाध्य बनाउँछ। अर्कोतिर, सुक्ष्म अर्थतन्त्रले मानिसको निकट सम्पर्कमा भाइरसले जस्तो व्यवहार देखाउँछ, करले पनि त्यस्तै व्यवहार देखाउने बताउँछ। यसप्रकार उपभोग र उत्पादन ढाँचामा अहिलेको अवस्थाले ठूलो परिवर्तन निम्त्याउँछ जसले वृहत संरचनागत रूपान्तरणतिर डोर्याउँछ।

आर्थिक सिद्धान्त र इतिहास दुवैबाट हामीलाई के थाहा छ भने बजार एक्लैले मात्र यस्ता सङ्क्रमणकालीन समयको व्यवस्थापन गर्न सक्दैन। विशेषतः यस्ता सङ्क्रमणकाल जति अचानक आइलाग्छ, त्यत्ति नै यसको व्यवस्थापन गर्न कठिनाइ हुने गर्छ। जहाजनका कर्मचारीलाई सजिलै जुमको प्राविधिक त बनाउन सकिन्नँ नि। कदाचित हामीले त्यसो गर्नसक्यौं नै भने पनि अहिले हामीले विस्तार गरिरहेका क्षेत्र मुख्यतः न्यून श्रम आधारित र बढी सीपमा आधारित छन्। 

हामीलाई के पनि थाहा छ भने वृहत् संरचनागत रूपान्तरणले परम्परागत क्रियसन समस्या सिर्जना गर्नसक्छ। त्यसले अर्थशास्त्रीहरूको शब्दमा आम्दानी र विस्थापन प्रभाव पार्दछ। आज मानिस-मानिसबीच सम्पर्क नहुने क्षेत्रको विस्तार भएको छ। ती क्षेत्रको तुलनात्मक आकर्षणले पनि उनीहरूको प्रगति भएको देखाउँछ। महामारीका कारण खुम्चिएका क्षेत्रमा आय कटौतीले निम्त्याएको खर्च कटौतीलाई अहिले नयाँ विस्तार भएका क्षेत्रको आम्दानीले सजिलै उछिन्छ।

महामारीका कारण निम्त्याउने तेस्रो प्रभाव भनेको असमानतामा वृद्धि हो। मेसिनलाई भाइरस सङ्क्रमण हुँदैन। त्यसकारण, रोजगारदातालाई कामदारभन्दा मेसिन नै बढी प्यारो हुन्छ। तुलनात्मकरूपमा बढी अर्धदक्ष कामदार प्रयोग हुने सङ्क्रमणको जोखिम क्षेत्रमा कामदारभन्दा मेसिन नै बढी आकर्षक हुनेछन्। धनीभन्दा न्यून आय भएकाले जीवनका आधारभूत आवश्यकतामा आफ्नो आम्दानीको ठूलो हिस्सा खर्च गर्नुपर्ने भएकाले असमानतामा कुनै स्वचालित ह्रास सङ्कुचित हुन्छ। 

यी सबैभन्दा माथि आर्थिक शिथिलताका दुई थप कारण छन्। २००८-०९ को आर्थिक संकटमा जस्तै मौद्रिक नीतिले केही व्यापारिक एकाइलाई अस्थायी तरलीकरणको समस्या समाधान गर्न मद्दत गर्छ। तर, यसले कर चुक्ताको समस्या समाधान गर्न सक्दैन। न त ब्याजदर शून्यको नजिक पुगिसकेको अवस्थामा अर्थतन्त्रलाई उकास्नै सक्छ।

अमेरिका र अरू केही देशमा बढ्दो घाटा र ऋणप्रति ‘अनुदार’ आलोचना वित्तीय प्रवद्र्धनको बाटोमा अवरोध बनेर उभिएको हुन्छ। २०१७ मा अर्बपति र व्यापारिक कम्पनीका करमा गरिएको कटौती, २००८ मा वाल स्ट्रिटलाई दिइएको अनुदान र यो वर्ष ठूला कम्पनीलाई दिइएको सहायताको लाभ उठाउने मानिस उही छन्। तर, सबैभन्दा पीडितलाई बेरोजगारी भत्ता, स्वास्थ्य सेवा र अन्य आवश्यक सहायता दिने कुरालाई उपेक्षा गरिएको छ। 

महामारी सुरु भएयता हाम्रा अल्पकालीन प्राथमिकता प्रष्ट छन्। स्वाभाविकरूपमा स्वास्थ्य आपतकालको समाधान गर्नुपर्छ किनभने भाइरस नियन्त्रण नभई आर्थिक पुनः स्थापनाको कुनै सम्भावना हुँदैन। स्वास्थ्य आपतकाल भन्नाले व्यक्तिगत सुरक्षा सामग्रीजस्ता अत्यावश्यक सामग्री आपूर्ति र अस्पतालको क्षमता वृद्धि आदि हुन्। 

सबैभन्दा खाँचो परेका समुदायको सुरक्षा, अनावश्यक टाटपल्टाइबाट जोगाउन तरलताको सिर्जना र कामदार तथा व्यापारिक एकाइबीच सम्बन्ध कायम राख्ने आदि कामले उपयुक्त समय आउनेवित्तिकै उत्पादन पुनः सुचारु गर्न मद्दत गर्छ। 

यस्ता स्वाभाविक मुद्दाबीच पनि निर्णय गर्न असजिला केही कुरा पक्कै छन्। जस्तै, संकट आरम्भ हुनुअघि नै आर्थिक अवनति भोग्दै गरेका पुराना व्यापारीलाई अब अनुदान दिएर उकास्न सकिन्नँ। त्यसो गर्नु भनेको थप समस्यामा हामफाल्नु हो। जसले अन्ततः गतिशीलता र वृद्धिलाई अवरोध पुर्याउँछ।

आफैं ऋणमा पूरै डुबिसकेका व्यापारिक एकाइलाई पनि हामी अनुदान दिएर उकास्न सक्दैनौँ। अमेरिकी केन्द्रीय बैंकले घाटामा गएका कम्पनीलाई तिनका सम्पत्ति किनेर सहयोग गर्ने भनी ल्याइएको कार्यक्रम गलत हो। वास्तवमा सरकारको यो निर्णय नैतिक संकटको एउटा सान्दर्भिक दृष्टान्त पनि हो। सरकारले व्यापारीलाई उनीहरूकै कमजोरीले निम्तिएको अवस्थाबाट कदापि जोगाउन मिल्दैन ।

कोभिड-१९ हामीबीच लामो समय रहिरहने देखिन्छ। त्यसकारण, हामीले हाम्रो प्राथमिकताका क्षेत्र निक्र्योल गरी खर्च गर्नुपर्छ। महामारीले सताइरहेका बेला अमेरिकी समाज जातीय र आर्थिक असमानताको घाउले अझ पीडित बनेको छ।

अमेरिकी समाजको स्वास्थ्य अवस्था अझ खस्केको छ। जीवाष्म इन्धनको विध्वंसात्मक निर्भरता बढेको छ। विभिन्न क्षेत्रमा सरकारको खर्च अत्यधिक बढिरहेका बेलामा सामाजिक र जातीय न्यायको पक्षमा, स्वास्थ्य क्षेत्रको सुधार, वातावरण संरक्षण र ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा योगदान गर्न कम्पनीहरूसमक्ष माग गर्ने अधिकार जनताले राख्छन्।

यस्ता प्राथमिकता सार्वजनिक बजेटको विनियोजन कसरी गर्ने भन्नेमा मात्र प्रतिबिम्वित गर्ने होइन, बरू त्यस्ता सेवा लिने समुदायलाई हामीले लगाउने सर्तमा पनि प्रतिबिम्वित हुनुपर्छ। 

म र मेरा सहकर्मी लेखकले हालैको अध्ययनमा सार्वजनिक बजेटको उचित खर्चबारे लेखेका छौं। वातावरण संरक्षणसहितको लगानी समय सान्दर्भिक र श्रमलाई जोड दिने हुनुपर्छ। त्यसले बढ्दो बेरोजगारी समस्या समाधान गर्न मद्दत गर्छ। यसले अर्थतन्त्रमा कर कटौतीभन्दा बढी प्रवद्र्धनात्मक प्रभाव पार्न सक्छ। अमेरिकालगायत देशले जनताले चाहेको जस्तो समाजका लागि दिगो र वृहत आर्थिक पुनः स्थापना कार्यक्रम लागू गर्न नसक्ने कुनै आर्थिक कारण छैन। 
    
(जोसेफ ई. स्टिग्लिज नोबेल पुरस्कार विजेता अर्थशास्त्री हुन्। उनी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन्।)

स्रोत : प्रोजेक्ट सिन्डिकेट 

नेपाली अनुवाद : नीरज लवजू


Leave a Reply

Your email address will not be published.