अयोध्यामा राममन्दिर शिलान्यास हुँदा जनकपुरमा दीपावली गर्न आग्रह

अयोध्यामा राममन्दिर शिलान्यास हुँदा जनकपुरमा दीपावली गर्न आग्रह

आगामी ५ अगस्त, भारतको अयोध्यामा राम मन्दिर शिलान्यास हुँदैछ। लामो समयदेखि धार्मिक विवादका कारण निकै चर्चामा आएको अयोध्याको यो राममन्दिर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गर्दैछन्। 

जनकपुरसँग विशेष साइनो गाँसिएको अयोध्यामा हुन लागेको राममन्दिरको शिलान्यासमा सहभागी हुन नपाउँदा दुस्खी भएको जनकपुर मन्दिरले जनाएको छ। 

जनकपुर र अयोध्याबीच पौराणिक कालदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रही आएको छ। 

प्रतिक्षापछि हुन गइरहेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन आफूहरु आतुर भएपनि कोरोना संक्रमणका कारण सहभागी हुन नसक्ने भएपछि दु:ख लागेको मन्दिरका महन्त रामतपेश्वर दासले बताए। 

‘माता सीताको ससुराली अयोध्यामा राम मन्दिर निर्माण भइरहेको छ, हामीलाई खुशी लागेको छ,’ शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर महन्त दासले भने, ‘तत्काल त्यहाँ पुग्ने स्थिति देखिएको छैन्। स्थिति सामान्य भइसकेपछि जनकपुरसहित सम्पूर्ण मिथिलाको प्रतिनिधित्व गरेर अयोध्या पुग्ने हाम्रो चाहना छ।’ 

उनका अनुसार नेपालबाट थुप्रै भक्त्तजन लिएर अयोध्या जाने योजना थियो। 

‘राम मन्दिर शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्दै १०र२० हजारको संख्यामा त्यहाँ पुग्ने हाम्रो योजना थियो,’ दासले थपे,‘यस विषयमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग पटकपटक छलफलपनि भएको छ। उहाँसहित अयोध्या पुग्ने कार्यक्रम थियो। तर, कोरोनाका कारण सम्भव भएको छैन्।’ 

परिस्थिति अनुकूल भइसकेपछि नागरिक समाजको तर्फबाट जनकपुरको प्रतिनिधित्व गर्दै निधिसहित मन्दिर निर्माणमा जनकपुरको उपस्थिति जनाइने उनले बताए। 

महन्त दासले अयोध्यामा राम मन्दिर शिलान्यासको शुभ साइत बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म तोकिएको भन्दै यस अवधिमा सबैलाई रामधुनी र साँझ दीपावली मनाउन आग्रह गरेका छन्। 

अयोध्याको सरयुग नदी छेउमा निर्माण हुने भगवान रामको प्रतिमासँग सीताको प्रतिमासमेत स्थापना गर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। 

‘सीताबिना रामको महिमा अपूरो हुन्छ, सरयुग नदी छेउमा भगवान रामको ठूलो प्रतिमा निर्माण कुरा भइरहेको छ, त्यहाँ माता सीताको पनि प्रतिमा निर्माण होस हामीले भनेका छौं,’ दासले भने। 

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले लामो संघर्षपछि अयोध्यामा राम मन्दिर निर्माण भइरहेको भन्दै निर्माण कार्यमा रामको ससुराली जनकपुरको समेत योगदान हुनुपर्ने बताए। 

उत्तराधिकारी महन्त दासले मन्दिर निर्माणमा क्षमताअनुसार सहयोग गर्न जनकपुरवासीलाई आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published.