गाईजात्रा मनाउन वडावासीको भेला

गाईजात्रा मनाउन वडावासीको भेला

गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउन सम्बन्धमा शुक्रबार भक्तपुर नगरपालिका–४ का वडावासीले भेला गरेका छन्। 

भक्तपुर नगरपालिकाले नजिकिँदै गरेको गुन्हीपुन्ही (गाईजात्रा) पर्व औपचारिकतामा सीमित गरी मनाउन नगरबासी जनता र सरोकारवाला पक्षसँग अनुरोध गरिरहेकामा यसलाई अझ व्यापक बनाउन वडास्तरमा भेला भएको हो। 

यसपालि जात्रामा प्रदर्शन हुने घिन्ताङघिसी र परम्परागत, आधुनिक, सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगरपालिकाले अपिल गरेको छ।

समुदायस्तरमा कोरोना संक्रमित देखिन थालेको वर्तमान अवस्थामा रोग संक्रमण फैलिन नदिन गाईजात्रामा बाजागाजा र घिन्ताङघिसी नलैजाने ढंगले मनाउनुपर्नेमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जोड दिए। 

उनले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रूपमा धनी सहर भएको हुँदा यहाँ मनाइने हरेक पर्वको आफ्नै  महत्त्व रहेको बताएका थिए। 

जनता र समुदायको हितनिम्ति गरेको निर्णयमा नगरवासीको साथ र सहयोग रहने अपेक्षा गर्दै उनले कोरोना महामारीको स्थिति भयावह हुनसक्नेतर्फ सचेत गराए। उनले क्षणिक मनोरन्जनबाट हुनसक्ने खतराबारे अवगत गराउँदै स्वस्थ जस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्न नहुने बताए।    

भक्तपुर नगरपालिका–४ का वडाध्यक्ष कुमार चवालले कोभिड–१९ को विषम परिस्थितिमा जात्रालाई सुरक्षित ढंगले मनाउने कार्यमा नगरवासी सचेत हुनुपर्ने बताउँदै यसपालि गाईजात्रामा बाजागाजा र घिन्ताङघिसी नलैजाने ढंगले मनाउनुपर्नेमा जोड दिए।

नेपाल मजदुर किसान पार्टीका वडा ४ समन्वय समितिका सदस्यद्वय उपेन्द्र सुवाल र न्हुछेराम भेले, वडा सदस्य राजेन्द्र माक र इकाई समितिका हरिसुन्दर सुवालले पनि गाईजात्रा सभ्य र सामाजिक दूरी कायम गरी मनाउनुपर्ने बताए।


Leave a Reply

Your email address will not be published.