काठमाडाैं उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि, नाकाबाट १० हजारकाे स्वाब संकलन
काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमतिको संख्या बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा बिहीबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै गृह मन्त्रालयले बिहीबारबाट हरेक साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा आवातजावतमा समेत रोक लगाइसकेको छ। त्यस्तै, अत्याआवश्यक बाहेकका सवारीसाधनमा समेत कडाइ गरिएको छ।
नियमित ब्रिफिङमा प्रवक्ता गौतमले उपत्यका प्रवेश गर्ने नाकाबाट १० हजार दुई सय पाँच जनाको स्वाब संकलन गरिएको जनाए।
तीमध्ये तीन हजार सात सयको रिर्पाेट आइसकेको छ। जसमा बिहीबार २४ र शुक्रबार एक जनाको रपोर्ट कोरोना पोजेटिभ आएको उनले बताए।
शुक्रबार मुलुकभर दुई सय २४ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा संक्रमितको संख्या १९ हजार सात सय ७१ जना पुगेको छ। १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा एक सय ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार तीन सय ९९ पुगेको छ । अझै सक्रिए संक्रमित पाँच हजार तीन सय १६ छन्।