दाङमा पहिलो थारु भाषाकाे पाठ्यक्रम तयार

दाङमा पहिलो थारु भाषाकाे पाठ्यक्रम तयार

थारु कल्याणकारिणी सभा दाङको नेतृत्वमा थारु मातृभाषा पाठ्यक्रम तयार गरिएको छ। घोराही उपमहनगरपालिकाको आर्थिक सहयोगमा दाङमा पहिलो पटक थारु मातृभाषा पाठ्यक्रम बनाइएको हो।

विद्यार्थीका लागि आफ्नै मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने, नयाँ विषयवस्तुलाई आफ्नो मातृभाषामा शिक्षण धारणा स्पष्ट भई आत्मविश्वासको विकास गराउने, विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक विकासलाई प्रभावकारी सहयोग पुर्याउने, थारु भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै दोस्रो भाषामा सिक्न सजिलो बनाउने र थारु भाषाको संरक्षण, प्रर्वद्धन र विकासमा टेवा पुर्याउनेलगायत उद्देश्यले थारु पाठ्यक्रम तयार गरिएको हो।

सोह्रवटा विषयवस्तु र चारवटा कार्यक्षेत्र समेटेर थारु मातृभाषा पाठ्यक्रम तयार गरिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं थारु मातृभाषा पाठ्यक्रम टिमका संयोजक भुवन चौधरीले जानकारी गराए। 

उनका अनुसार विषय कार्यक्षेत्रमा सुनुवाइ बोलाइमा (ध्वनि सचेतीकरण), पढाइमा पठन प्रवाह (अर्थबोध/पठनबोध), लेखाइमा (लेख्य वर्ण सचेतीकरण/लेखाइ) र शब्द भण्डारण/व्याकरण (शब्द भण्डार) रहेका छन्।

विषयवस्तुमा मै ओ म्वा परिवार, म्वार दैनिकी, हमार समुदाय, हमार विद्यालय, हमार वातावरण, म्वार स्वास्थ्य रहेको छ। म्वार सिर्जना, हमार संस्कृति, असल व्यवहार, हमार बजार, हमार देश, म्वार संसार, खेल, हमार प्रविधि, हमार सीप र सूचना, सञ्चार रहेको छ।

घोराही उपमहानगरपालिकाले गत वर्षदेखि थारु भाषालाई सरकारी कामकाजीमा ल्याइसकेको छ। नयाँ शैक्षिक सत्रदेखि घोराही उपमहानगरपालिकाभित्र थारु बाहुल्य रहेको विद्यालयमा थारु मातृभाषामा पठनपाठन गराउने निर्णय गरेको छ। सोही निर्णयअनुसार घोराही उपमहानगरपालिकाको सहयोगमा थारु मातृभाषा पाठ्यक्रम तयार गरिएको हो।

पहिलो चरणमा कक्षा १ देखि ३ सम्म थारु भाषाको पाठ्यक्रम पढाइ हुने घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीले जानकारी गराए। 

नेपालको संविधान २०७२ के धारा ३१ (५) मा मातृभाषाबाट पनि पठनपाठन गराउन सक्ने व्यवस्था मिलाएकाले त्यसलाई  कार्यान्वयनमा ल्याउन उपमहानगरबाट सुरुबाट गरिरहेको नगर प्रमुख चौधरीले बताए। ‘थारु भाषालाई नगरको पहिचान बनाउने उद्देश्य हो,’ उनले भने, ‘भाषालाई सर्वव्यापी बनाउन जरुरी छ, हामीले थारु भाषालाई जिल्लाव्यापी बनाउन नसके पनि घोराहीव्यापी बनाएरै छाड्छौं।’ 


Leave a Reply

Your email address will not be published.