काेराेना संक्रमित बढेपछि जलेश्वरमा पाँच दिने निषेधाज्ञा
महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबारदेखि निषेधाज्ञा लागू गरिएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी जलेश्वर नगरपालिकामा पाँच दिनका निम्ति निषेधाज्ञा आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार जलेश्वर नगरपालिका पूर्वमा भागेश्वर, पश्चिममा राविम क्याम्पस, उत्तरमा प्रकौलै चोक र दक्षिणमा धबौलीको रातु पुलसको सीमाभित्र निषेधाज्ञा जारी गरिएको हाे।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक आवतजावत र हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाएको छ।
स्थानीय प्रशासनले स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवालगायतलाई अत्यावश्यक सेवामा राखेको छ।
कोरोना संक्रमणको त्रासका कारण जलेश्वर उपमहानगरपालिका र मालपोत कार्यालयसमेत बन्द भएको छ।
केही दिनअघि कोरोना संक्रमणका कारण महोत्तरीको महोत्तरी गाउँपालिका डाम्ही मडईका एक पुरुषको मृत्यु भएको थियो।
संक्रमित व्यक्तिको शव व्यवस्थापनमा खटिएका २० मध्ये १० नेपाली सेनामा समेत संक्रमण पुष्टि भएको थियो।