कोरोना आशंकामा विकास तथा प्रविधि समितिको बैठक स्थगित

कोरोना आशंकामा विकास तथा प्रविधि समितिको बैठक स्थगित

सचिवलाई कोरोना संक्रमणको आशंका गर्दै आइतबारलाई तय गरिएको संसद्को विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ। 

शहरी विकास मन्त्रालयले हालसम्म गरेका कामहरू र आगामी कार्यायोजनाका विषयमा हुने बैठक मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गर्दै स्थगित भएको हो।

समितिकी सभापति कल्याणी खड्काले भने, त्यहाँका कर्मचारी सबैको रिपोर्ट नआउँदासम्मका लागि बैठक राख्न नसकिने भन्दै सल्लाह गरेरै स्थगित गरिएको बताइन्।

‘उहाँ सहभागी भएको कार्यक्रममा आउनुभएको मेयरलाई कोरोना भएको रहेछ, त्यसैले हामीले सबैको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै आइतबार बस्ने बैठक स्थगित गरेका हौं,’ उनले भनिन्। खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताइन्।

मन्त्रालयले भने, सचिवलाई कोरोना संक्रमण नभएको बताएको छ। ‘सचिवज्युलाई कोरोना संक्रमणको कुनै लक्षण छैन, अस्ति एउटा मेयरहरुको बैठकमा जानु भएको थियो, अहिले त्यहाँसहभागीमध्ये एक जनालाई कोरोना देखिएछि सचिवज्युलाई पनि आशंका गरिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘तर, हामीले परीक्षणका लागि स्वाब दिइसकेका छौं, अहिलेसम्म कुनै लक्षण पनि देखिएका छैनन्।’

उनले कोरोना संक्रमणको आशंकाले नभई सभापति कल्याणीकुमारी खड्काले आफ्नै कारण बैठक स्थगित गरेको हुनुपर्ने बताए। ‘कसले बाहिर कोरोनाको कारण देखाएर हल्ला फैलाएछ तर त्यसकै कारण बैठक रोकिएको होइन, अब सभापतिले कुन कारणले बैठक स्थगित गर्नुभयो कुनै जानकारी छैन।’


Leave a Reply

Your email address will not be published.