मदिरा पिएर छिनमै व्यवसायीको हत्या योजना, दुई पक्राउ
काभ्रे धुलिखेल नगरपालिका-११ आरुबोटेका ५४ वर्षीय कामीसिंह तामाङको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल-११ का २१ वर्षीय सन्जीव मैलानी र २३ वर्षीय रुपेन्द्रमान लामालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई शुक्रबार साँझ पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक रबि पौडेलका अनुसार तामाङको बिहीबार हत्या भएको थियो। पाँचखाल नगरपालिका-१० स्थित बिपी राजमार्गको भित्री सडकमा तामाङको शव फेला परेको थियो। नचिनिने अवस्थामा उनको टाउको अनुहार तथा शरीरका विभिन्न भागमा चोट पटक थियो।
प्रहरीको अनुसन्धान समूहले बिहीबार साँझ नै दुवैलाई पक्राउ गरेको थियो। लामा काभ्रे र मैनाली ललितपुर ढुंगेसाँघुबाट पक्राउ परेका थिए। घटनालगत्तै कुकुरसहितको फरेन्सिक टोली उनीहरूको खोजीमा हिँडेको थियो।
प्रहरी उपरीक्षक पौडेलका अनुसार मैनालीले आफ्नो पेटीले तामाङको घाँटी बाँधेर केही परसम्म घिसारेका थिए। त्यसपछि दुबै जनाले ढुङ्गाले अनुहार टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार घटना भएको ठाउँनजिक दुवै जना मदिरा पिएर बसेका थिए। यही बीचमा सामान्य व्यवसायी तामाङसँग उनीहरूको भेट भएको थियो।
उनीहरूले पैसाको लोभमा यो सब काम गरेको स्वीकार गरेका छन्। ‘तामाङको गोजीमा रहेको पाँच सय रुपैयाँका लागि हत्या गरेको बुझिन्छ, उनीहरूले अलि बढी पैसा रहेको आँकलन गरी लगेर हत्या गर्ने अनि पैसा लुट्ने तत्कालै योजना बनाएको देखिएको छ,’ पौडेलले भने।
दुवैलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको पौडेलले बताए।