काठमाडौं उपत्यकामा किन बढ्दैछ संक्रमण?

काठमाडौं उपत्यकामा किन बढ्दैछ संक्रमण?

गएको बुधबार देशभर २ सय १० जनामा संक्रमण पुष्टि हुँदा राजधानीमा २० जनामा संक्रमण भयो। 

त्यसैगरी, बिहीबार २ सय ७४ पुष्टि हुँदा ४५ र शुक्रबार २ सय २४ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा ३८ जनामा कोरोना देखियो। 
यसरी दैनिकजसो काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। 

लकडाउन खुकुलो भएसँगै भारत तथा संक्रमण बढेका ठाउँबाट काठमाडौं भित्रिने मानिसको संख्या बढ्न थालिसकेको थियो। 
नाकाहरूमा चेकजाँच कम भइसकेको थियो। 

र, लकडाउन अन्त्यसँगै काठमाडौंमा संक्रमणको अवस्था भयावह हुँदैछ।

लकडाउन अन्त्यसँगै साउन ७ देखि शुक्रबारसम्म उपत्यकामा मात्रै १ सय ८७ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

त्योमात्रै होइन, देशभर पनि संक्रमणको स्थिति त्यस्तै छ। 

ताजा उदाहरण, भारतबाट ओखलढुंगा पुगेका कामदार हुन्, जहाँ २१ जनामध्ये १८ जनामा संक्रमण देखियो। 

सरकारले साउन ६ गते रातिदेखि लकडाउन अन्त्य भएको घोषणा गर्‌यो। 

लकडाउन खोलेसँगै विशेष गरेर भारत अनि संक्रमण फैलिरहेको जिल्लाबाट समेत कामका लागि राजधानी फर्किने बढ्न थाले। 
सरकारले कोरोनाको लक्षण देखिएकाको मात्रै परीक्षण गर्ने नीति लिएको थियो। 

उपत्यका बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो। 

कामको शिलशिलामा बाहिरबाट काठमाडौं भित्रिएका बस्ने बसोबास व्यवस्थित हुन नसक्दा अन्य परिवारमा समेत संक्रमण सरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला बताउँछन्। 

‘बाहिरबाट आएका मानिस संक्रमित हुँदा परिवारका सदस्यमा स¥यो र त्यसैगरी परिवारको सम्पर्कमा आएका व्यक्तिमा समेत सरेको पाइएको छ,’ उनले भने। 

‘अस्पतालमा परीक्षण गर्न आएका धेरै जसो गाडी बनाउने कामदारमा संक्रमण देखिएको छ,’ उनले भने, ‘रोगग्रस्त ठाउँबाट फर्किएर आउने व्यक्ति व्यवस्थित नभइदिएका कारण संक्रमण बढेको छ।’ 

उनका अनुसार दोस्रो संक्रमण बढ्नुको कारण जनस्वास्थ्यको मापदण्ड नअपनाउनु हो। 

काठमाडौंमा संक्रमणको जोखिम नबढ्ने हिसाबले सरकारले अर्थतन्त्र चलायमान बनाउन लकडाउन खुला ग¥यो।

तर, सर्वसाधारणले जनस्वास्थ्यको नियम पालना गरेनन्। ‘लकडाउन खोलेपछि घर बाहिर निस्किएका मानिस सबै व्यवस्थित भएर

हिँडेका छैनन्,’ डा. बास्तोलाले भने, ‘केही व्यक्तिले सामाजिक दूरी तथा मास्क प्रयोगसमेत गरेका छैनन्।’

प्रदेश २ मा सुरु–सुरुमा संक्रमण देखिएको जस्तो अवस्था अहिले काठमाडौंमा छ। 

अहिले यहाँ भुसको आगो जस्तो संक्रमण फैलिएको छैन। अहिले यहाँ सुरुवाती  छ। 

‘लकडाउन खुलेपछि हामी व्यवस्थित नहुने हो भने भोलिका दिनमा प्रदेश २ कै हालत काठमाडौंले खेप्नुपर्छ,’ उनले भने, ‘अझै पनि व्यवस्थित हुन सकेनौं र रणनीति व्यवस्थापन गरेनौं भने १० हप्तापछि काठमाडौंमा संक्रमण भयावह हुनेछ।’ 

‘काठमाडौंमा संक्रमित संख्या भयावह रूपमा बढ्छ : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा संक्रमित संख्या भयावह रूपमा बढ्ने आँकलन गरेको छ। 

शुक्रबार मन्त्रालयको नियमित कोरोना अपडेट गर्दै प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा जनस्वास्थ्यको मापदण्ड पालना नभएको बताए। 

‘राजधानीमा संक्रमित संख्या बढिरहेको छ। जनस्वास्थ्यको मापदण्ड पालना भएको छैन, यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने छ’, डा. गौतमले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना गरिएन भने काठमाडौंमा संक्रमितले अस्पतालमा बेड समेत नपाउने अवस्था हुन सक्छ।’

उनका अनुसार देशका विभिन्न नाकामा मानिस ओहोर–दोहोर गर्नाले पनि संक्रमण बढिरहेको छ। 

‘नाकामा कुनै कन्ट्रोल भएको पाइएको छैन,’ डा. गौतमले भने, ‘भारतबाट कामदार ओखलढुंगा पुगे। जसका कारण २१ मध्ये १८ जनामा पुष्टि भयो।’

पछिल्लो समय समूहमा बसिरहेकामा संक्रमण बढिरहेको छ। 

‘जसको उदाहरण प्रहरी तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिनु हो,’ डा. गौतमले भने। 

नेपाल प्रहरी मुख्यालयमै ७६ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। सिमानाका सशस्त्र प्रहरीलाई समेत निरन्तर कोरोना संक्रमण भइरहेको छ। 

शुक्रबारमात्रै पर्साको नारायणी अस्पतालमा एकैपटक २८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भयो। 


Leave a Reply

Your email address will not be published.