उसिनेको मकैले छाक टार्दैछन् बाढीपीडित

उसिनेको मकैले छाक टार्दैछन् बाढीपीडित

सोमबार कालिकोटको रास्कोट नगरपालिका– अन्तर्गत रहेको तुसार खोला र गंगेखोलामा गएको तीन किलोमिटरभन्दा लामो पहिरोमा परेर ६ जना बेपत्ता भए। एकजनाको मृत्यु भयो। नगरपालिकाका हजारौंको संख्यामा नागरिक विस्थापित भएका छन्।

स्थानीय धनवीर गिरीले भने, ‘अहिले पनि छिटफुट पानी परिरहेको छ। गाउँका धेरैका घरका भित्ता भत्किएका छन्, छाना खसेका छन्। पशुचौपायाको पनि मृत्यु भएको छ। पाखा–पखेरा भत्किएका स–साना घटनाको त गणना नै छैन। नागरिक त्रसित भएका छन्।’

पहिरोले विस्थापित रास्कोट नगरपालिका १ वडा र ७ वडाका नागरिकलाई हाल स्थानीय विद्यालय तथा लघु जलविद्युत आयोजनाको कार्यालयमा राखिएको छ।

धनवीरले सुनाए, ‘दुई वडाका विस्थापित परिवारलाई विद्यालयहरूमा राखिएको छ। घरमा फर्किएर ढुक्कसँग बस्न सक्ने वातावरण छैन। कतिबेला पहिरो जान्छ र हामीलाई पनि लिन्छ भन्ने डर छ।’

उनका अनुसार वडा १ का एक सय ६० जना र वडा ७ का १७ नागरिक गरी कुल एक सय ७७ जना बाढीपहिरोका कारण विस्थापित भई आश्रय लिइरहेका छन्। 

आश्रयस्थलमा उनीहरूका लागि लत्ताकपडा, सुरक्षित पिउने पानी, खाद्यान्न, टेन्टलगायतको समस्या छ।

बाढीपहिरोपछि विद्यालयको भवनमा आश्रय लिइरहेका उदय लुवालले भने, ‘खानलाई केही छैन, को आउला र खान देला भन्ने स्थिति छ, कहिलेकाही गाउँलेले अलिअलि छाक टार्ने जोहो गरिदिन्छन्।’

सामाजिक विकासमन्त्री दल रावल र रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल विस्थापित परिवारलगायतको अवस्था र बाढीपहिरोको क्षतिबारेमा बुझ्न घटनास्थलमा शुक्रबार पुगेका थिए। सोयाबिन, दाल, ओढ्नलाई सामान्य पाखी र चामल लिएर उनीहरू घटनास्थल पुगेको विस्थापितहरूले जनाए।

स्थानीय दानबहादुर बमले भने, ‘यत्तिका धेरै नागरिक विस्थापित छन्। २० कठ्ठा चामल यत्तिका धेरैलाई कति दिन पुग्ला ? आकाशमा हेलिकप्टर देखिन्छन्। हामी राहतको श्वास फेर्न चाहन्छौं।’

गाउँमा ३० वटाभन्दा धेरैको संख्यामा घट्ट थिए। बाढीपहिरोले सबै घट्टहरु बगाएरै लियो। 

पहिरोले विस्थापित भएकामध्ये बल बिकले भने, ‘गाउँमा घरमा भएका अन्न पनि पिसेर खाने ठाउँ छैन। मकै धान पिध्न कहाँ लानु ? दिन काट्नलाई नै हामी मकै उसिनेर खाइरहेका छौं।’ 

निरास हुँदै उनले भने, ‘भोको पेट बोकेर राहतको आशा गर्नुभन्दा उधारो चामल खोज्नु जाती।’

स्थानीय बजारमा रहेका खाद्य पसलबाट उधारोमा चामल ल्याउनुपर्ने विस्थापितहरूको बाध्यता छ। उनले भने, ‘अब बाँच्ने नै त हो। मकै मात्रै उसनेर कति खानु? उधारो चामल पाएपछि एकदिन कमाएरै तिरौंला।’

जिल्लाभर बाढीपहिरोका कारण तीन सय घरपरिवार विस्थापित भएका छन्। नगरपालिकाभर कुल २ हजारभन्दा धेरै नागरिक बाढीपहिरोका कारण प्रभावित बनेका छन्।

यता रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले भने, ‘हामीले पीडितपरिवारलाई राहतका लागि काम गरिरहेका छौं, उच्च जोखिममा रहेका नागरिकलाई सारिएको छ। खाद्यप्रबन्धलगायतका विषयमा काम भइरहेको छ।’

स्वयंसेवक खटाउन मुख्यमन्त्रीको निर्देशन

कालीकोटमा गएको पहिरोका प्रभाव र अवस्थाका बारेमा निरीक्षणका लागि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार दिउँसो कालीकोट पुगे।

हेलिकोप्टर लिएर गएका मुख्यमन्त्री शाहीले मौसमले सम्भव भएका स्थानसम्म ओर्लेरै स्थलगत अवलोकन गरे। जिल्लाको विपद् व्यवस्थापन समितिको बैठकमा पनि उनी सहभागी भए।

सुरक्षाकर्मी मात्र घटाउँदा विपद् व्यवस्थापन थप सम्भव नभएको जनाउँदै उनले वडागत स्वयंसेवकको समेत व्यवस्था गर्न कालीकोटका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

यसका साथै बाढीपहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र केन्द्र सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने राहतका लागि समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई उनले निर्देशन दिए।

कालीकोटको विपद् व्यवस्थापनको जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले समेत बाढीपहिरोपीडित परिवारका लागि राहतको व्यवस्थापन गर्ने जनाएका थिए।


Leave a Reply

Your email address will not be published.