पशुपतिको गुरुयोजनाको विरोधमा स्थानीय आन्दोलित
पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ गुरु योजनाका विरुद्धमा पशुपति क्षेत्रबासी सडक आन्दोलनमा उत्रिएका छन्।
स्थानीय सरोकार वाला तथा अधिकारवालासँग छलफल नै नगरी गैरन्यायिक ढंगबाट गुरु योजना ल्याइएको भन्दै त्यसको बर्खास्तिको माग गर्दै हजारौंको संख्यामा स्थानीय सडकमा उत्रिएका छन्।
पशुपति क्षेत्र बिकास कोषले गुरु योजना अगाडि सारेपछि पशुपति क्षेत्र बचाउ संघर्ष समितिनै गठन गरेर स्थानीय आन्दोलित बनेका हुन्।
मुल गेटको रुपमा प्रयोग हुँदै आएको पश्चिम गेट हटाउने, ब्रह्मनाल सार्ने, पशुपति क्षेत्र नजिको बस्नी सारेर फराकिलो बनाउने, सतलपाटी हटाउनेलगायतका गुरुयोजना अगाडि सारेपछि स्थानीय आन्दोलित बनेका हुन्।
यसबाट पशुपतिको धार्मिक र पौराणिक महत्वनै हराउने स्थानीयको चिन्ता छ।