जीवन-मृत्युसँग लड्दै क्रिकेट खेलाडी कुन्दन

जीवन-मृत्युसँग लड्दै क्रिकेट खेलाडी कुन्दन

कुन्दन सिंह, राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो। राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट यू–१९ बाट दर्जनौं क्रिकेट प्रतियोगिता खेलिसकेका छन् उनले।
तर, २४ वर्ष नपुग्दै कुन्दनले अहिले जीवन र मृत्यसँग संघर्ष गर्नुपरिरहेको छ। 

क्रिकेटको क्षेत्रमा राष्ट्रका लागि योगदान दिने धोको बोकेका कुन्दनको मिर्गौलाले काम गर्न छोडेको छ। क्रिकेट मैदानमा घन्किएर दौडिने कुन्दनलाई घरको ओछ्यानमात्र सहारा बनेको छ।

निको भएर फेरि मैदानसम्म पुगेर क्रिकेट खेल्ने कुन्दनको धोको अहिले पनि उस्तै छ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले सानै छँदा आमा–बाबु गुमाइसकेका छन्। मामाले हेरचाहमा छन् कुन्दन। चिकित्सकले कुन्दनको मिर्गौला फेर्नुपर्ने बताइसकेका छन्। तर, त्यसको लागि आर्थिक अभाव भोग्नुपरेको छ उनले।

तत्काल डायलासिसमा राखिएको छ उनलाई। साताको दुईपटक डायलासिस गर्न गाउँबाट १२-१३ किलोमिटर गाडी चढेर प्रादेशिक अस्पताल जनकपुर आउनु परिरहेको छ।

जीवन-मृत्युसँग लडाइँ गरिरहेको कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदिएपछि जिल्ला क्रिकेट संघ धनुषा अघि सरेको छ। जिल्ला क्रिकेट संघले कुन्दनको उपचारका लागि आर्थिक गर्न सबैसँग अपिल गरेको छ। र, संघको अपिलपछि अर्थ संकलनको काम पनि अघि बढेको छ।

कुन्दन बचाउ अभियानमा जुटेका जनकपुरका युवा भवेश मिश्रले उनको जीवन रक्षार्थ अर्थ संकलन कार्य अघि बढेको बताए। ‘कुन्दनको जीवन रक्षा गर्न सबैभन्दा पहिले पोखराका क्रिकेट अभियन्ता विज्ञान कार्कीले अभियान सुरु गर्नुभयो, उहाँले चन्दा उठाएर आर्थिक सहयोग पठाउनुभयो,’ मिश्रले भने, ‘विज्ञानजीले अभियान सुरु गरेपछि हामीले पनि कुन्दनको जीवन रक्षाका लागि अर्थ जुटाउने अभियान थालेका छौं।’

विभिन्न क्षेत्र र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगपछि हालसम्म आफूहरूले करिब साढे ३ लाख रुपैयाँ जुटाइसकेको मिश्रले बताए। संकलन भएको रकम एक दुई दिनभित्र कुन्दनलाई हस्तान्तरण गरिने उनले जनाएका छन्।

प्रदेशबाट राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा प्रतिनिधित्व गर्दै आइरहेका कुन्दनको उपचारका लागि प्रदेश सरकारले हालसम्म कुनै चासो देखाएको छैन। आफ्नै गाउँठाउँका प्रतिभाशाली एकजना खेलाडी जीवन र मृत्युसँग लडिरहेका बेला जीवन रक्षाका लागि सरकारले चासो नदेखाएपछि अभियन्ताको मन पिरोलेको छ।

क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले कुन्दनको उपचारका लागि प्रदेश सरकारले चासो नदेखाएकोमा गुनासो गरे। सरकारले चासो नदेखाउँदा आफूहरु अर्थ संकलनमा जुटेको र सबैलाई सहयोगका लागि अपिलसमेत गरेको उनले बताए।

‘प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री महोत्तरीकै छन्, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह पनि महोत्तरीका हुन्, प्रदेशका मुख्य न्यायाधीवक्ता पनि महोत्तरीका छन्, आन्तरिक मामिला तथा कानुनमन्त्री पनि स्वयं खेलाडी रहिसकेका छन्,’ पाण्डेय भने, ‘तर पनि कुन्दनलाई बचाउन कसैले चासो दिएका छैनन्।’

मृत्यु भइसकेका व्यक्तिको परिवारलाई ५ लाख रुपैयाँ बाँड्दै हिँड्ने प्रदेश सरकारले जीवित व्यक्तिलाई जोगाउन कुनै सहयोग नगरेको उनको भनाइ छ। 

हालसम्म प्रदेश सरकारले सहयोग नगरे पनि आफूहरू आफ्नो स्तरबाट अर्थ संकलन गरेर कुन्दनको जीवन रक्षार्थ पछि नहट्ने उनले बताए।

कुन्दन बचाउ अभियानमा हालसम्म भंगहा नगरपालिकाका मेयर सन्जीव साहले २१ हजार, युवा व्यवसायी उज्ज्वल अग्रवालले ११ हजार, युवा व्यवसायी जितेन्द्र साहले ११ हजार, ई. रोशन सिंह (उदयपुर) ले ११ हजार, ई. रोशन सिंह (कन्चनपुर) ले ११ हजार, डाक्टर विपिनकुमार यादवले ११ हजार ५ सय, प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले ५ हजार, ई. प्रकाश रायले ५ हजार, राजपाका नेता चन्दन दुबेले ५ हजार, ई. शेखर पन्जियारले ५ हजार, क्रिकेटका पूर्व प्रशिक्षक नवीन सिंहले ३ हजार ५ सय, अनुन झाले ५ हजार, अनसारूल राईले ५ हजार र हरिशंकर साहले २ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published.