बहिस्करणसँग जोडिएको यौन हिंसा
नेपालजस्तो विकासोन्मुख मुलुकमा महिला हिंसाका घटना हुनु नौलो रहेन। महिला हिंसाले समाजमा प्रत्यक्ष रुपमा पार्ने असरलाई जो कोहीले सजिलै व्याख्याको घेराभित्रबाट अवोलोकन गर्न सक्दैन। दाइजो, यौनहिंसा वा मानसिक यातनाका कारणजस्ता हिंसाले महिला आत्महत्याको शिकार बनेका उदाहरण पनि प्रशस्त छन्। आउनुहोस् महिला हिंसा र यस विषयमा उठेका प्रश्न बारे केही बहस गरौँ।
के हो महिला हिंसा?
महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु-याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ।
समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन्। नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भैरहेका छन्।
पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि कायमै छ। महिला र पुरुषबीच विद्यमान सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसाका घटना भइरहेका छन्।
महिलाको हत्या, बलात्कार, यौन दुर्व्यवहार, अपहरण, बेचबिखन, कुटपिट, शरीरमै आगो लगाइदिने, विष खुवाएर, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भैरहेका छन्। त्यस्ता सबै कार्यलाई महिलाविरुद्धको हिंसा मानिएको छ।
महिला हिंसाको स्थिति
लेखक उषा थपलिया महिला हिंसाको स्थिति बारे लेख्छिन् – 'महिला हिंसाअन्तर्गत पनि अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान तथा परिवारका अन्य सदस्यबाट पीडित छन्, जसलाई घरेलु हिंसा भन्ने गरिएको छ। दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ। श्रीमान बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिला वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन्। त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिला उत्तिकै पीडित हुने गरेका छन्।
कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारीसाधनमा दुर्व्यवहार एवं अपशब्दहरूको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन्। कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ। बोक्सीको आरोपमा असहाय महिलाको ज्यान लिनेदेखि र हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन्। त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ। यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ। त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।'
महिला हिंसाबारे सविंधानमा के छ?
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ ले अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु नहुने भन्ने उल्लेख छ।
सामाजिक व्यवहार सुधार ऐन, २०३३– सामाजिक व्यवहार सुधार ऐनमा दाइजो, तिलकसम्बन्धी व्यवस्था छ। विवाहमा तिलक लिन नपाइने कुरा यस ऐनको दफा ५ मा उल्लेखित छ। जसमा केटा पक्ष वा केटी पक्षले दाइजो माग्न वा दिन नहुने कुरा उल्लेख गरिएको छ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६– घरेलु हिंसा (कसुर र सजाय) ऐनको प्रस्तावनामा नै प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवारभित्र र घर परिवारसँग जोडिएर आउने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण प्रदान गर्नेसम्बन्धी व्यवस्था भएको उल्लेख छ।
महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि, १९७९
महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धिमा पनि नेपाल हस्ताक्षर गरी पक्ष राष्ट्र रहेको छ। त्यसैगरी बेइजिङ घोषणपत्रले पनि महिलामाथि हुने हिंसा अन्त्यका लागि धेरै भन्दा धेरै कुरा सम्बोधन गरेको छ।
महिला हिंसा कसरी रोकथाम गर्न सकिन्छ ?
निकै लामो समयसम्म महिला, दलित र अल्पसंख्यक समुदायलाई पछि पारियो। मूलधारमा उनीहरूको आवाजको सुनुवाइ नै भएन। बलात्कार, यौन हिंसालगायतका घटनामा यो लामो समयको उत्पीडन र बहिस्करण जोडिएको छ। हिंसाजन्य गतिविधिका पीडित पनि उनीहरू नै बढी पर्ने गरेका छन्।
विभिन्न तथ्यांकले पुष्टि गर्छन्– विपन्न, अशिक्षित र विभिन्न रूपमा पछाडि पारिएका महिला नै बढी पीडित हुँदै आएका छन्। सदियौंदेखि जरा गाडेको उत्पीडनको संरचना अन्त्य गर्न कठिन त होला तर सम्भव छ। यसका केही उपाय छन्।
अन्नपूर्ण पोष्टमा भारती पाठक लेख्छिन् –'महिलालाई शिक्षा भनेर पहिलेदेखि भनियो। आजको समयमा शिक्षा मात्रै भन्दा अपूर्ण हुन सक्छ। शिक्षासँगै नेतृत्व विकास र आर्थिक सशक्तीकरण पनि अपरिहार्य आवश्यकता हो। जो गरीब र विपन्न हुन्छ, जो समाजमा अघि सरेर आफ्ना कुरा राख्न सक्दैन, उनै हिंसाबाट बढी पीडित हुने गरेका छन्।'
स्रोतसाधनमा महिलाको पहुँच तथा अधिकार सुनिश्चित नभएसम्म महिला हिंसाका घटना अन्त्य हुन असम्भव छ। हिंसापछि पनि समाजमा सार्वजनिक हुन नसक्ने अवस्थाको मुख्य कारण पनि सम्पत्ति र स्रोतसाधनमा महिलाको अधिकार नभएरै हो। संविधानले सम्पत्तिमा महिलाको हक निश्चित गरिदिए पनि व्यवहारतः निकै कठिन छ। प्राविधिक र संरचनागत रूपमै स्रोतमाथि महिलाको हक निश्चित गर्न कठिन देखिन्छ।
अन्त्यमा
नेपाली पुरूष प्रधान समाज हो। यहाँ परम्परागत सोचमा परिवर्तन भएको छैन। महिलाले दाइजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यापार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, बलात्कार, बैवाहिक बलात्कार, बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशीक रोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो छैन। राज्यको संरचनाले नै महिलाको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन। पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउन सकेको छैन।
रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरूले नियन्त्रण गर्ने प्रवृतिको कारण पनि महिलामाथि हिंसा भएको अवस्था छ।