कोरोना संक्रमणको जोखिममा मन्त्री र नेताकै लापरबाही, कतै पार्टी प्रवेश त कतै सभा-गोष्ठी

कोरोना संक्रमणको जोखिममा मन्त्री र नेताकै लापरबाही, कतै पार्टी प्रवेश त कतै सभा-गोष्ठी

प्रदेश २ कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। संक्रमणकै कारण प्रदेश २ मा शनिबारसम्म १७ जनाको मृत्यु भइसकेको छ। अधिकांश समय सावधानी अपनाएर बस्ने प्रदेशका विशिष्ट व्यक्तिहरूमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको छ।

उच्च अदालत जनकपुरका न्यायाधीश, राजविराजस्थित उच्च अदालत जनकपुरको इजलासका एक न्यायाधीश, राजविराजकै सरकारी वकिल कार्यालयका एकजना सरकारी वकिल, पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीलगायतका विशिष्ट व्यक्तिहरू कोरोना संक्रमणको चपेटामा परिसकेका छन्। 

यहाँसम्म कि कोरोना रोकथाम र नियन्त्रणको अभिभारा बोकेको प्रदेशस्थित सामाजिक विकास मन्त्रालयकै तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जमै जगदम्बा इन्डस्ट्रिजका सिइओले संक्रमणपछि ज्यान गुमाउनुपरेको छ।

कोरोना संक्रमणको उच्च जोखिम मध्यनजर गरी प्रदेशको राजविराज, वीरगन्ज र जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ भने बारामा आइतबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा लगाइँदै छ। यसअघि विज्ञहरूले भनेअनुसार साउन–भदौतिर कोरोना संक्रमण उच्च तहमा पुग्दै छ, प्रदेश २ भित्र।

यसअघि लक्षणबिनाको संक्रमण देखिए पनि अहिले लक्षणसहितको संक्रमण देखिन थालेको छ। लक्षणसहित देखिने कोरोना संक्रमण जोखिमपूर्ण रहेको विज्ञहरू बताउँछन्। लक्षण नदेखिएको अवस्थाभन्दा अहिले थप सजगता र सावधानी अपनाउनु जरुरी रहेको उनीहरूको भनाइ छ। 

कोरोना संक्रमणको दर बढिरहेको तुलनामा प्रदेश २ मा जाँचको दायरा बढ्न सकेको छैन। वीरगन्ज महानगरपालिकाले प्रतिघर एक÷एकजनाको पिसिआर परीक्षण सुरु गरे पनि प्रदेशकै अन्य ठाउँहरूमा यस्तो हुन सकेको छैन।

परीक्षणको दायरा बढ्न नसकेपछि कोरोना संक्रमितबारे अझै यकिन हुनसक्ने अवस्था बनिसकेको छैन।

कोरोना संक्रमणको जोखिम बढिरहेको बेला सरकार र नेतृत्व तहमा रहेका राजनीतिज्ञजस्ता व्यक्तिहरूले कोरोनाबाट जोगिन आमनागरिकबीच सचेतना फैलाउनुका साथै  उदाहरण भएर प्रस्तुत हुनुपर्ने बेला स्वयं उनीहरू नै बेखबर बनेका छन्।

कतै पार्टी प्रवेश त कतै सभा गोष्ठीको नाममा भीड जम्मा गरेर सामाजिक दूरीको मजाक उडाउँदै कोरोना संक्रमणको जोखिमलाई झन् बढाउने काम भइरहेको छ, उनीहरूबाट।

संघीय र प्रदेश सरकार स्वयंले सभा सम्मेलन, भेला, सामूहिक एवं सार्वजनिक कार्यक्रम नगर्न नगराउन पटक–पटक निर्देशन जारी गरिसकेको छ।

तर, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीसहित प्रदेश सांसदहरूको उपस्थितिमा जनता समाजवादी पार्टीले पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ। 

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको प्रमुख आतिथ्यतामा शुक्रबार धनुषाधाममा पार्टी प्रवेश कार्यक्रम भएको थियो। तर, पार्टी प्रवेश कार्यक्रममा न सामाजिक दूरी कायम गरिएको थियो न त संक्रमणबाट जोगिने कुनै मापदण्ड बनाइएको थियो।

समुदायस्तरमा कोरोना फैलिइसकेको अवस्थामा प्रदेशका जिम्मेवार मन्त्री र सांसदहरूबाटै भीड जुटाएर तोकिएको मापदण्डको खिल्ली उडाइएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला यस्ता कार्यक्रमको आयोजना गर्नु थप जोखिम निम्त्याउनुबाहेक अरु केही नरहेको जनकपुरका युवा सरोज राय बताउँछन्।

‘मानिसको मात्र होइन कोरोनाको पनि पार्टी प्रवेशको लहर तीव्र भएजस्तो छ। पार्टी प्रवेश गर्नासाथ कोरोनाले पनि भेटवार्ता तीव्र पारेको छ। विजय सरावगी र प्रदीप यादवज्यूसँगको भेटघाटपछि अन्य नेतासँग पनि भेटघाट गर्न प्रयासरत नै होला,’ रायले कटाक्ष गरे।

मन्त्री र सांसदहरूले कोरोनाबाट जोगिन सामाजिक दूरीलगायतका मापदण्ड पूरा नगरेर स्वयं जोखिम निम्त्याउने काम गरिरहेको भन्दै सर्वसाधारणले टिप्पणी गरेका छन्।

साथै, मास्क नलगाउँदा सर्वसाधारण नागरिकलाई कारबाही गर्ने स्थानीय प्रशासन र प्रहरी पनि ठूलो भीडभाड गरी पार्टीका कार्यक्रम भइरहँदासमेत रोक्न सकेको छैन। 

सरकारको नेतृत्व गरिरहेको दल, मन्त्री र सांसदबाट स्वयं सरकारले नै तोकेको मापदण्ड पालना नहुनु दुःखद रहेको जनकपुरका पत्रकार राजेश कर्ण बताउँछन्। सभा, सम्मेलन र पार्टी प्रवेशजस्ता कार्यक्रममा भीड एकत्रित गरेर कोरोना संक्रमणको जोखिम बढाउने कार्य भइरहेको उनको भनाइ छ।

‘आमनागरिकले नेतृत्वले गरेको कामको अनुशरण गर्ने हो, उहाँहरू आफैं सचेत देखिनुभएको छैन, भीडभाड जम्मा गरेर कार्यक्रम गरिरहनुभएको छ,’ पत्रकार कर्ण भन्छन्, ‘मन्त्री र नेताहरू आफैंले मापदण्ड उल्लंघन गर्न थालेपछि आमनागरिकले पनि त्यसै गर्ने हो। पार्टी प्रवेशजस्ता कार्यक्रम पछि पनि गर्न सकिन्छ, अहिले कोरोना संक्रमणलाई परास्त गर्नेतर्फ ध्यान दिनु जरुरी छ।’

पत्रकार कर्ण प्रदेशस्थित जिल्लाका प्रशासकहरू स्वयं स्वागत र सम्मानजसता कार्यक्रममा सहभागी भएर सामाजिक दूरीको मजाक बनाउने काम गरिरहेको बताए।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म प्रदेश २ मा ४ हजार ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भइसेको छ भने २ हजार ९ सय ४० जनाको पिसिआर नतिजा आउन बाँकी छ। 

यसैगरी एक हजार ३ सय ९० जना क्वारेन्टाइनमा छन् भने दुई हजार १ सय ५२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।


Leave a Reply

Your email address will not be published.