जो अरुलाई ‘बचाउन’ आफैलाई मारिरहेछन्

जो अरुलाई ‘बचाउन’ आफैलाई मारिरहेछन्

लाउँलाउँ–खाउँखाउँ भन्ने उमेर।

हट्टाकट्टा अनि सुहाउँदो जिउडाल।

युवा छन्, उत्साह छ, जोश–जाँगर छ र केही नयाँ गर्ने सोच पनि।

चाह्यो भने त अरू जे नि गर्न सक्छन्।

तर, उनी आम मान्छको ज्यान बचाउनका लागि आफ्नै ज्यान मारिरहेछन्, अनसन बसेर। 

अर्थात्, सत्याग्रह बसेका छन्। 

उनीजस्तै अन्य युवा काममा छन्, कमाउने ध्याउन्नमा लागेका छन्।

क्लबतिर छन्, डान्सबारतिर छन्, घरपरिवारसँग समय बिताइरहेका छन्। प्रेमिकासँग प्रेमिल समय गुजारिरहेका छन्।

तर ‘ई’ भने खुला आकासमुनि त्रिपालभित्र बसी सर्वसाधारणको जीवन खोजिरहेका छन्।

बसन्तपुरमा त्रिपालमुनि लम्पसार परेका छन।

सर्वसाधारणको जीवन रक्षाका खातिर आफ्नो ज्यान जोखिममा पारिरहेका छन्।

सलाइन पानीको पाइप कहिल्यै छुट्दैन।

शरीर कमजोर भइरहेको छ। 

तर, उनको मन झन् बलियो अनि कठोर बन्दै गइरहेको छ।

यसको एकमात्रै कारण हो– सबैको साथ र सहयोग।

आफ्नो पूरा नाम बताउन चाहँदैनन् उनी।

मेरो नाम ‘ई’ यतिमात्रै हो।

‘इसान अधिकारी त मिडियाले राखिदिएको नाम हो, म ई नै हो, योभन्दा बढी नामको पछाडि अक्षर नै छैन,’ उनी भन्छन्।
कहिले पाटन दरबार स्क्वायर त कहिले बसन्तपुर दरबार स्क्वायर। 

न उनले जिन्दगीदेखि निराश भएर यो बाटो रोजेका हुन् न कुनै चर्चा कमाउनैै।

बस उनले त मनको सुनेका हुन्। 

जे सही लाग्छ त्यही गरेका हुन्।

आफ्नो लागि जिन्दगी बदल्नेहरू धेरै हुन्छन्। 

तर ‘ई’ ले अरूका खातिर जिन्दगीको बाटो बदले।

मैले नगरे कसले गर्छ, कहिले गर्छ सोचे, मन फेरे।

र, त उनी अहिले यस्तो अवस्थामा आइपुगे।

‘आफूलाई जे ठिक लाग्छ त्यो गरेँ, मनको सुनेको हुँ,’ यसरी खानापानी नै  नखाई सत्याग्रह बस्नु रहर त हैन नि?, ई भन्छन्, ‘मेरा पनि इच्छा थिए होला, सपना छन् होला।’

हो, सपना त हरेकले पालेका हुन्छन्। 

र सपना ईका पनि छन्, सपना नभएका होइनन्। 

तर, सर्वसाधारणका खातिर, जनस्वास्थ्यका खातिर आफ्ना सपना थाँति राखे उनले।

आफ्ना लागि कुनै सत्याग्रह नगरेको, सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा लापरबाही गरेको र जिम्मेवारी निभाउन नसक्दा सर्वसाधारणले दुःख पाएको हुँदा सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउन आफूले घच्घच्याइरहेको उनी बताउँछन्।

उनी सधैं हिँडिरहन मन पराउँछन्। नयाँनयाँ ठाउँ जान रमाइलो लाग्छ।

नयाँनयाँ ठाउँ घुम्नु उनको सोख हो।

उनलाई यसरी गुम्सिएर बस्न मन कहाँ छ र?

ज्यानको परबाह नगरी दिनरात पल्टिरहन कसले खोजेको थियो र?

उनलाई पनि त ननाँनयाँ ठाउँ डुल्नु थियो पाखा पखेरासँग खेल्नु थियो।

मन परेका दृश्य तथा आकृति कैद गर्नु थियो।

कहाँ मन थियो र कहिले त्रिपालको बसाई कहिले अस्पतालको बसाई।

उनको सपना त राम्रो भिडियो ब्लगर बन्ने थियो र छ पनि। 

पैदल यात्रा गर्न औधी रुची छ। उनी त्यो गरिरहेका छन्।

‘यात्री मान्छे। जिन्दगीको बाटो बदलियो,’ उनी भन्छन्।

ठूलाबडाको मात्रै होइन हरेकको जिन्दगीले अर्थ राख्ने उनी बताउँछन्।

तिनै सर्वसाधारणको जिन्दगीको अर्थ खोज्न लागिपरेका छन्, ई।

‘हाम्रो स्वास्थ्यलाई मात्रै ध्यान देऊ भनेका होइनौं नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड नहोस् भनेर गरेका हौं, जनताले के चाहन्छन् त्यसअनुरूप काम गरोस् भनेर सचेत गराएका हांै र अझै पनि गराउँदैछौं,’ अभियन्ता ई भन्छन्।

ज्यानको बाजी थापेर उनी सत्याग्रह बस्दै आएका छन्।

सात दिन पाटन दरबार स्क्वायर, पाँच दिन ह्याम्स अस्पताल र अहिले बसन्तपुर दरबार स्क्वायरमा १६औं दिन चलिरहेको छ।
बारम्बार अनसन÷सत्याग्रह बसे पनि सरकारले उनीहरूका माग पूरा गरेको छैन।

‘सरकार आश्वासन दिन्छ, व्यवहारमा लागू गर्दैन। अभियन्तासँग गरिएको १२ बुँदे सम्झौता कार्यान्वयन भएको छैन,’ उनी भन्छन्, ‘अभियानसँग जोडिएकाको होइन सम्पूर्ण नेपालीको भावना हो यो अभियान।’

यो समय जीवन मरणको भएको उनी बताउँछन्। आफ्नै आमाबा हुन सक्ने भएकाले हरेक नागरिकको स्वास्थ्यमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने उनको माग छ।

आफूहरूको कुनै काम नभएर सत्याग्रह नबसेको उनको भनाइ छ।

अन्तरआत्माको आवाज सुनेँ, अरूको पीडाको सुनुवाइ होस् भनेर लागेका हौं,’ ई प्रश्न गर्छन्, ‘देशको सबैभन्दा ठूलो र महत्वपूर्ण मुद्दामा पनि सरकार किन गम्भीर बन्दैन?’

जनताको जीवन रक्षाका लागि सत्याग्रह सुरु गरेको ‘इनफ इज इनफ’ अभियानले सरकारसँग १५ बुँदे माग राखेको छ।
सरकारले माग सम्बोधन नगरेसम्म उनीहरूले सत्याग्रह जारी राख्ने बताएका छन्।

करिब एक महिनाको सत्याग्रह र सबैको साथ, सहयोग र समर्थनपछि केही सकारात्मक प्रभाव परेको भए पनि प्रतिज्ञा गरेअनुरूप काम नभएको उनले बताए।

‘सरकारले तपाईंहरूको माग पूरा गरेँ भनेको जस्तै गर्छौं भने पनि अहिलेसम्म व्यवहारमा कार्यान्वयन भएको छैन,’ उनी भन्छन्, ‘यहाँ नबोले कहाँ बोल्ने? हामीले नबोले कसले बोल्ने? अहिले नबोले कहिले बोल्ने?’

२०५२ सालमा काठमाडौंको थापाथलीमा जन्मेका थिए ई।

जावलाखेलको सेन्टजेभियर स्कुलमा कक्षा १० सम्म पढे।

१० मा पढ्दापढ्दै पढाइलाई बिट मारे।

उनको रुची नयाँनयाँ ठाउँ घुम्ने, भिडियो ब्लगर बन्ने थियो।

स्कुल छाडेदेखि उनले घर पनि छाडे।

केही समय काम गरे।

घर छोडेको १० वर्ष भयो उनले। उनी १० वर्षदेखि एक्लै छन्, साथीभाइसँग बस्छन्।

अभियानमा संलग्न भएदेखि अर्थात् सत्याग्रह बसेका उनलाई भेट्न आमाबुबा आएका छैनन्।

‘१० वर्ष भयो घर छाडेको, आमाबासँग कहिलेकाहीँ कुरा हुन्छ,’ ई भन्छन्।

उनी विगत सम्झिन र घरपरिवारबारे कुरा गर्न चाहँदैनन्।

‘घर किन छाडेँ के भयो सबै कुरा नभनौं ठिक लाग्दैन। केही नयाँ गरौं सबैको राम्रो होस सबैका दुःख पीडाको सुनुवाइ होस् भन्ने चाहने सामान्य जीवन शैलीको मान्छे हो ई,’ उनी भन्छन्।

….

विदेशतिर कोरोना भाइरस संक्रमणबाट मान्छे मरेको खबर सुनिरहन्थे।

नेपालमा कोरोना संक्रमण देखिएपछि सर्वसाधारणले हिँडेर भोकभोकै सयौं किलोमिटर जानुपर्ने बाध्यता, उपचारका लागि आवश्यक

तयारी नपुगेको सरकारको काम कारबाहीप्रति आम जनताको वितृष्णा विभिन्न माध्यमबाट बाहिर आइरहेका थिए।

सामाजिक सञ्जालमा सर्वसाधारणको गुनासो आइरहेको थियो। त्यसैबाट उनी प्रेरित भए।

सर्वसाधारणका दुःख देख्दा सुन्दा उनको मन पग्लियो।

सरकारलाई जिम्मेवार बनाउन केही त गर्नुपर्छ भन्ने सोच पलायो।

सरकार बेपर्वाह बनेपछि उनले सडकमा आएर भए पनि जिम्मेवारी बोध गराउनुपर्ने सोचे। सरकारले महामारीमा अभिभावकको

जिम्मेवारी निभाउन नसकेको भन्दै ‘अब त अति भो चुप लागेर बस्न सकिँदैन’ सोचे।

फलस्वरूप जुन पहिलो सातादेखि इनफ इज इनफ जन्मियो। अर्थात्, अब त अति भो सरकारको सुत्रपात भयो।

सरकारलाई जिम्मेवारी र उत्तरदायित्व बोध गराउन उनले इन्स्टाग्राममार्फत सडकमा आउन चाहने युवालाई  आग्रह गरे।

त्यसपछि कोभिड–१९ को समूह बन्यो।

सुरुवातमा अभियन्ताले सरकारको काम कारबाहीविरुद्ध बालुवाटारमा प्रदर्शन गरे।

प्रदर्शनमा सरकारले बल प्रयोग गरी पानीको फोहरा फाल्नेदेखि लिएर थुन्ने र लाठी चार्जसम्म गर्‌यो।

त्यतिबेला मिडियाले पनि साथ र सहयोग गर्‌यो। 

सञ्चारमाध्यममा समाचार फोटोहरू आउन थाले।

यसरी विस्तारै अभियानका बारेमा सबैले थाहा पाउन थाले।

सरकारको काम कारबाहीप्रति असन्तुष्ट सर्वसाधारण अभियानमा साथ र सहयोग गर्न थाले।

अहिले अभियान देशव्यापी बनेको छ। अभियानमा सबैले साथ र सहभागिता जनाइरहेका छन्।

‘वर्षौंपछिको ठूलो महाव्याधी जीवन मरणको सवाल भएकाले यसबाट बच्न– बचाउन सरकारले महत्वपूर्ण भूमिका निभाउनुपर्ने भन्दै प्रोएक्टिभ आन्दोलन सुरु गरेका हौं, जुन निरन्तर चलिरहन्छ,’ ई भन्छन्।

अभियन्ताले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भएका स्रोतसाधन प्रयोग गर्नुपर्ने, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने, परीक्षणको नतिजा छिटो आउनुपर्ने, क्वारेन्टाइनको सुरक्षामा ध्यान दिनुपर्ने, घर पठाउनुअघि सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनुपर्ने, अदालतको आदेश पालना गरिनुपर्ने र महामारी नियन्त्रण तथा रोकथाममा अग्रभाग (फ्रन्टलाइन) मा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन्।

त्यस्तै विज्ञ समिति गठन गरिनुपर्ने, गरिब र विपन्न वर्गलाई राहतको व्यवस्था गरिनुपर्ने, सरकारको काममा पारदर्शिता र जवाफदेहिता हुनुपर्ने, स्वास्थ्य क्षमतामा वृद्धि गरिनुपर्ने, जोखिमको जानकारी दिनुपर्ने, मानव अधिकारको रक्षा हुनुपर्ने माग अभियन्ताको सरकारसँग छ।


Leave a Reply

Your email address will not be published.