रक्सीका रूपमा स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

रक्सीका रूपमा स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने स्यानिटाइजरलाई मादक पदार्थ (रक्सी)का रूपमा पिउँदा १० जनाको मृत्यु भएको छ। 

भारतको आन्ध्र प्रदेशस्थित कुरीछेड्डु गाउँमा स्यानिटाइजरमा हल्का पेय पदार्थ र पानी मिसाएर पिउँदा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मदिरा पसल बन्द भएपछि अल्कोहलयुक्त स्यानिटाइजरजाई नै उनीहरूले मादक पदार्थका रूपमा १० दिनदेखि सेवन गरिरहेको पाइएको प्रहरीले जनाएको छ।

स्यानिटाइजरमा अन्य विषाक्त पदार्थ थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको आन्ध्र प्रदेश प्रहरीले जानकारी दिएको छ। परीक्षणका लागि स्यानिटाइजरको नमुना ल्याबमा पठाइएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आन्ध्र प्रदेश सरकारले कडा मापदण्ड लागू गरेको छ। यस्तै, भारतकै पन्जाबमा नक्कली मदिरा सेवनबाट ३८ जनाले ज्यान गुमाएका छन्। 

भारतमा कोरोना संक्रमणबाटै ३६ हजारको मृत्यु भएको छ भने १६ लाख ३८ हजारभन्दा बढी मानिस प्रभावित छन्।


Leave a Reply

Your email address will not be published.