काममा पेलेको भन्दै कार्यालय प्रमुखलाई कुटपिट
धेरै काममा पेलाएको भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सन्जेललाई कुटपिट गरिएको छ।
दुईजना कार्यालय सहयोगीले आवश्यकताभन्दा बढी ड्युटीमा खटाएको र अनावश्यक गालीगलौज गरी तनाव दिएको आरोप लगाएर सन्जेललाई कार्यालयमै कुटपिट गरेका हुन्।
कार्यालय सहयोगी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ। शनिबार बिहान ११ बजेतिर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोस खड्काले जानकारी दिएका छन्।
अहिले प्रहरी कार्यालयमा उनीहरूलाई राखेर छलफल गराइरहेको खड्काले बताए।
दुवैजना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पन्चिङ मेसिनलगायतले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवैजना कार्यालयका करारका कर्मचारी हुन्। कुटपिटबाट सन्जेलको निधारलगायत अनुहारमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न दुवैजना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए। केहीबेरमा चालक नीरज भट्टराईले गाडीमा सन्जेललाई पनि लिएर कार्यालयमा आइपुगे। सन्जेल सधैं सार्वजनिक बिदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन्।