‘सुन तोलाको १ लाख ३० हजारसम्म पुग्नसक्छ’
स्थानीय बजारमा साउन ९ गते बहुमूल्य पहेँलो धातु सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ थियो।
कोरोनाको विषम परिस्थितिक बेला नेपाली बजारमा सुन किन्ने सायदै छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर वज्राचार्य अर्थतन्त्र संकुचन भएका बेला उपभोक्ता उपभोग्य वस्तु खरिद गर्न कम गरिरहेका छन् भने सुन किन्ने त झनै कम रहेको बताउँछन्।
तर, एक सातामा सुनको भाउ साढे ३ हजार रुपैयाँले उकालो लागेर शुक्रबार ९९ हजार ३ सय कायम भयो।
सुनको भाउ तोलाको १ लाख पुग्न ७ सयमात्र बाँकी रहेका बेला महासचिव वज्राचार्य भाउ अझै उकालो लाग्ने अुनमान गर्छन्।
अन्तर्राष्ट्रिय बजार भाउका आधारमा नेपालमा सुनचाँदी व्यवसायी महासंघले नै हरेक दिन मूल्य निर्धारण गर्छ।
‘विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले सुनकाे मूल्य अझ बढ्ने अनुमान गरेका छन्,’ वज्राचार्यले भने, ‘नेपाली बजारमा तोलाको १ लाख ३० हजारसम्म पुग्नसक्छ।’
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ९ सय ७१ दशमलव ७० डलर थियो।
अहिले अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ आकासिए पनि यो अवस्था सधैंका लागि नहुने उनी ठान्छन्।
‘अमेरिका–चीनबीचको व्यापारिक युद्ध होस् वा अन्य उतारचढावका बेला, सुनको भाउ आकासिएको र अर्थतन्त्र सामान्य अवस्थामा फर्किंदा भाउ घटेको रेकर्ड छ,’ वज्राचार्यले भने, ‘नेपाली बजारमा पनि अहिलेकै भाउ कायम रहँदैन।’
कोरोना कहरबाट मुक्तिसँगै अर्थतन्त्र सामान्य अवस्थामा फर्कन थाले नेपाली बजारमा सुन तोलाको ८५ हजार रुपैयाँमा झर्न सक्ने उनको आँकलन छ।