सुर्खेतमा मास्क नलगाउनेहरूबाट ८२ हजार जरिवाना संकलन

सुर्खेतमा मास्क नलगाउनेहरूबाट ८२ हजार जरिवाना संकलन

सुर्खेतमा दैनिक रुपमा दर्जनौं नागरिक मास्क विना सार्वजनिक स्थानहरूमा फेला परिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले असार ३० गते यता आठ सय २३ जना मास्क नलगाई हिंड्ने नागरिकलाई कारबाही गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार एक सय ३० जना महिला र ६ सय ९३ जना पुरुष कारबाहीमा परेका हुन्। 

संक्रमण रोग ऐन २०२० को दफा (२) अनुसार एक सय रुपैयाँ जरिवाना र एक महिना सम्मको कैद सजायको व्यवस्था छ। सोही ऐन अनुरुप सार्वजनिक स्थानहरूमा मास्क नलगाए वाफत प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना लिइएको प्रहरी नायसव उपरीक्षक मगरले बताए।

बजारका भिडभाड हुने ठाउँहरू यात्रा गर्दा मास्क नलगाएका मासिसहरू कारवाहिमा पर्ने गरेका छन्। हालसम्म कारबाहीमा परेकाहरूलाई एक सय रुपैयाँ जरीवानामा गरीरहेको भन्दै उनले घटनाको प्रकृति हेरेर कैद सजाय पनि हुने बताए। प्रतिव्यक्ती एक सयका दरले जरिवाना लिँदा ८२ हजार तीन सय रुपैयाँ जरिवाना संकलन भइसकेको छ।

‘मास्क नलगाउनेलाई प्रहरीले जरिवाना तिराएको छ। कसैलाई सम्झाई–बुझाई गरेर पनि पठाएका छौँ,’ प्रवक्ता मगरले भने, ‘प्रहरीले ठाउ–ठाउमा चेकजाँचलाई कडाई पारेको छ। जनचेतना फैलाई पनि रहेको छ। तर पनि दिन दिनै मानिसहरू कारवाहिमा परिरहेका छन्।’

कारबाहीमा पर्नेहरूमा युवा युवतीहरू धेरै रहेको भन्दै उनले सबैलाई कोरोना महामारीबाट आफू र अरुलाई बचाउन मास्क अनिवार्य लगाउन आग्रह गरे।

अटेर गर्ने गाडी धनी पक्राउ 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सरकारको नियमको अवज्ञा गरेको भन्दै गाडी धनीसहित यात्रु बाहक बसलाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिव साढे ७ बजे वीरेन्द्रनगर–११ सुब्बाकुनामा चेकजाँच गर्ने क्रममा ना७ख ५८१३ नम्बरको यात्रु बाहक बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विना अनुमति सुर्खेतबाट काठमाडौंतर्फ जान लागेको उक्त बससहित चालक नोम बहादुर शाही, सहचालक मिलन भण्डारी र गाडि धनी लोक बहादुर थापालाई समेत प्रहरीले पक्राउ गरेको छ।

कोरोना भाइरसको महामारीको समयमा सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने नियम बनाए पनि सुर्खेत–कोहोलपुर हुँदै काठमाडौं जान लागेको जानकारी पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए। 

उनीहरूलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिएको छ। पक्राउ परेकाहरूलाई जरिवाना स्वरुप एक जनाको एक सय र ३० दिन कैद हुने उनले जानकारी दिए। कैद सजायको साटो दैनिक तीन सय रुपैयाँका दरले ३० दिनको २७ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ। 

साथै बसभाडा बापत उठाइएको ८९ हजार ९ सय रुपैयाँ समितिमार्फत यात्रुलाई नै फिर्ता गरिएको उनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.