कोरोना संक्रमित बढेपछि सुदूरपश्चिमका तीन ठाउँ सील
सुदूरपश्चिममा दुई दिनदेखी लगातार कोरोना संक्रमण पुष्टि हुनेको संख्या उकालो लागेपछि विभिन्न ठाउँका तीन वडा सील गरिएका छन्।
बझाङ जिल्लाको केदारस्यू गाउँपालिका-५ र ७ मा संक्रमण बढेको भन्दै शनिबार रातीदेखी सील गर्ने निर्णय गरिएको छ। क्वारेन्टाइनमा बसेका नागरिकलाई घर पठाउँदा त्यहाँका ६६ जनामा संक्रमण देखिएको थियो।
घर गएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि वडालाई सील गरी त्यहाँका सबै नागरिकको कन्ट्याक्ट ट्रेसिङ गरी स्वास्थय परीक्षण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए।
‘भारतबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकको स्वाव संकलन भएकोमा नतिजा आउन ढिलाई हुँदा सवै घर गएछन्,’ अध्यक्ष भण्डारीले भने,‘हिजो र आज आएको नतिजामा तीनैलाई कोरोना पुष्टि भयो, अब वडानै सील गरी सबैको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएका छौं।’ वडा सिल गर्दै कोरोना संक्रमण पुष्टी भएका सबै नागरिकलाई स्थानीय गर्जेपानी मावि, वडा नम्बर- १ को भाटशैन मावि वा काडाचौर माविमा राख्ने तयारी भइरहेको उनले बताए।
‘सिल गरिएका वडाबाट अनुमति विना कसैले घर बाहिर निष्कन पाउने छैनन्,’ अध्यक्ष भण्डारीले भने, ‘मेलापात जाँदा पनि भौतिक दूरी कायम गर्नुपर्ने छ।’
केदारस्यू गाउँपालिका- ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा शनिबार थप ४१ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो दुई दिनमा वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नम्बर ७ का ३१ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी कोरोना संक्रमितको संख्या बढेको भन्दै भीमदत्त नगरपालिकाले वडा नम्बर– १३ लाई पनि सील गर्ने निर्णय गरेको छ। वडा कार्यालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १२ बजेदेखि एक साताका लागि सिल गर्ने भएको हो।
भीनपा–१३ का अध्यक्ष लालबहादुर शाहीले अत्यावश्यक सेवाबाहेक वडामा सबै सेवा बन्द गरिएको बताए। अध्यक्ष शाहीका अनुसार संक्रमण देखिएका सबैका घर पूर्ण रुपमा सिल गरिएको छ।
यसैगरी बजार व्यवसाय बन्द गरिएको छ। पछिल्लो पटक वडामा ६ जनामा कोरोना संक्रमण देखिएपछि वडालाई सिल गरिएको हो। वडामा देखिएका संक्रमितहरू होम क्वारेन्टाइनमा बस्दै आएका थिए।