तासको लत हटाउन भक्तपुरमा ‘कसिमला पाँय्’

तासको लत हटाउन भक्तपुरमा ‘कसिमला पाँय्’

भक्तपुरका सार्वजनिक पाटीहरूमा तासको सट्टामा कसिमला पाँय् खेल्ने चलन बढेको छ। परापूर्वकालदेखि खेल्दै आएको खेल तासको सट्टामा यहाँका टोलटोलका सार्वजनिक पाटीमा स्थानीयहरूले कसिमला पाँय् खेल्न थालेका छन्।

भक्तपुरका स्थानीयवासी पूर्णनारायण बोजुले अहिले तासको सट्टामा यहीं खेल धेरै खेल्ने गरेको बताए। उनका अनुसार दिउँसो केही काम भएन भने बाहिर आएर यो खेल खेल्ने गरेका छौं। ‘सुरुवातमा पाका उमेरका बा र बाजेहरू मन्दिरमा तास खेलेर समय बिताउँथे,’ उनले भने, ‘भक्तपुर नगरपालिकाले तास खेल्न रोक लगाएपछि कसिमला पाँय् खेल्न थालेको हो।’

अर्का स्थानीय राजन कासिछ्वाको अनुभवमा बूढापाका बसेर खेल्दा समय पनि बित्छ, आपसी सद्भाव पनि कायम हुन्छ। ‘यो खेलमा हात र आँखाको समन्वय, खेलाडीको मनोविज्ञानसँग जोडिएको हुन्छ,’ उनले भने, ‘यो खेल खेल्नेमात्र नभएर भक्तपुरका मौलिक र परम्परा पनि जगेर्ना गर्न पहल गर्दैछौं।’

हाल यो खेल भक्तपुरको वाकुपति नारायणस्थान, सूर्यमढी, चोछें छुमा गणेशपाटी, गःहिती, खौमा, सिद्धपोखरी तथा विद्यालयहरूमा खेलिँदै आएको पाइन्छ।

कसिमला पाँय् खेल्न कुनै पैसा नलाग्ने कासिछ्वाले बताए। यो खेल बाजीमा खेलिँदैन। यो भक्तपुरको पुरानो खेल हो। भक्तपुर नगरपालिकाले ऐतिहासिक यस खेललाई जोगाउन अनेक कोणबाट प्रोत्साहन गरेपछि अहिले यो खेल खेल्ने प्रचलन बढेको छ। 

कसिमला पाँय् खेल्न चाहिने सामग्री

यो खेलका लागि नर्कट वा बेतबाँसको चार ओटा कप्टेरा वा पत्ति आवश्यक पर्छ। पत्ति यस खेलको मुख्य सामान हो। यसलाई नेवारीमा पाँय् भनिन्छ। साथै यस खेलमा एउटा बोर्ड र दुईथरि गोटी आवश्यक पर्दछ। दुईथरि गोटीमा स्थानीयहरूले खेल्ने बेलामा एउटा इँट्टाका टुक्रा राख्छन् भने अर्को पक्षले ढुंगाका टुक्रा राख्ने चलन छ। विशेष गरी यस बोर्डको बीचको भागलाई मला भनिन्छ। मलाको शाब्दिक अर्थ गल्ली हो। ती कोठाहरू १७ देखि २५ वटासम्म हुने गर्छ।

कसिमला पाँय् खेल्ने तरिका

जानकारहरूका अनुसार यो खेल पाँय् फालेर सुरु गरिन्छ। कसि नभएसम्म आफ्नो गोटी चाल्न पाइँदैन। गोटी चाल्ने मुख्य आधार यसमा रहेको पाँय् र कप्टेरामा आउने संख्या हो। यसमा दुईजना खेलाडीले खेल्न मिल्ने खेल हो। खेलाडीले आफ्नो गोटी दायाँबाट चाल्नुपर्ने नियम छ। दुवै पक्षले पाँय् उफार्दै पाय्मा आएको संख्याको आधारमा आफ्नो गोटी चाल्नुपर्छ। यो एक किसिमले लुडो जस्तै पनि देखिन्छ। 

चारवटा पत्ति उफार्दा यदि तीनवटा पत्ति घोप्टो परेर एउटा माथि फर्केमा कसि हुन्छ। यसपछि मात्र गोटी चाल्न पाइन्छ। जस्तै लुडोमा एक आएपछि कोठाबाट बाहिर निस्कन पाउने भने जस्तै। कसि नआएसम्म गोटी चाल्न पाइन्न। कसिपाँय् ४ वटामध्ये २ वटा माथि फर्केको र २ वटा घोप्टो परेमा द्वाक (२) मानिन्छ। त्यसैगरी ३ वटा माथि फर्केको र १ वटा घोप्टो परेमा सुदी (३) मान्निछ। ४ वटा माथि फर्केमा पिइ (४) मानिन्छ। यदि कसिपाँय् चारैवटा घोप्टो परेमा ङा (५) मान्निछ। 

यसरी कसिपाँय् उफार्दा पिई (४) र ङा (५) आएमा पुनः दोहोर्‌याएर कसिपाँय् उफार्न पाइन्छ। यो खेल खेल्न कम्तीमा २० मिनेट देखि १ घण्टाको समय लाग्छ।

संस्कृतिविद ओम धौभडेलले कसिमला पाँय् खेल भक्तपुरको आफ्नै खेल रहेको जानकारी गराए। ‘यो हाम्रो परम्परागत खेल हो,’ उनले भने। केही समय अगाडि यो लोप हुन लागेको धौभडेल बताउँछन्। उनले सेनाबीचको झगडा हुने बेला कसरी आफू बचेर दुश्मनका सेनालाई मार्ने भन्ने ज्ञान यस खेलबाट मिल्ने उनको तर्क छ। ‘यस खेलले मनोरञ्जनका साथै बौद्धिक खुराक प्रदान गर्ने गर्छ,’ उनले भने।

भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गराएपछि यस खेलले पुनर्जीवन पाएको छ। यसलाई २०७५ सालदेखि अन्तरनगर खेलकुद प्रतियोगितामा पनि समावेश गरिएको छ। अहिले यस खेललाई स्थानीय पाठ्यक्रमको कक्षा ६ मा समावेश गरिएको छ। अहिले यो खेल बूढापाकाले मात्र नभई स्कुलमा विद्यार्थीहरूले पनि मन लगाएर खेल्ने गरेका छन्।


Leave a Reply

Your email address will not be published.