बडिमालिका मेलाका लागि सरकारी टोली प्रस्थान, भक्तजनको चहलपहल
सुदूरपश्चिमको बाजुरामा रहेकोे तीर्थस्थल बडिमालिकामा लाग्ने मेला अवलोकन तथा दर्शनका लागि जाने भक्तजनको चहलपहल सुरु भएको छ।
बडिमालिकामा हेरक वर्ष साउन शुक्लपक्षबाट शुरु हुने मेला जनैपूर्णिमाको अघिल्लो दिनमा मूल पूजा गरेर समापन हुने गर्दछ। बडिमालिकको दर्शन तथा पूजाअर्चना गर्दा चिताएको फल प्राप्त हुने विश्वास सुदूरपश्चिम र कर्णालीमा छ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार मल्ला गिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भई यसै स्थानमा मालिका देवी उत्पन्न भएकी विश्वास गरिन्छ। मालिकादेवी एक प्रमुख शक्तिपिठका रुपमा रहेको बडिमालिका मन्दिरका पुजारी नेत्रराज पाध्याले बताए।
बडिमालिकामाईको पूजाअर्चनाका लागि बाजुरा सदरमुकाम मार्तडीबाट पूजा सामग्रीसहित सरकारी टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।
पूजा तथा दर्शनका लागि बाजागाजासहितको टोलीलाई बिदाई गरिएको बडिमालिका मेयर पदम बडुवालले बताए। पूजाका लागि नगरपालिकाका कर्मचारी विवेश शाह नेतृत्वको टोली बडिमालिका प्रस्थान गरेको हो।
टोलीलाई पैदल हिँडेर बडिमालिका पुग्न दुई दिन लाग्ने बताइएको छ। औपचारिक रूपमा पूजाआजा गर्ने परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, बझाङ, जुम्ला र कालीकोटबाट पनि सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेका छन्।
पूजाका लागि डोटीबाट बडिमालिका जाने टोलीलाई बिदाई गर्दा जिल्लामा सार्वजनिक बिदा दिने प्रचलन छ। अछामको प्रसिद्ध वैद्यनाथ धामबाट पनि पूजा गर्ने टोली १० दिनअघि नै बडिमालिका प्रस्थान गरिसकेको जनाइएको छ।
बडिमालिका आसपासको क्षेत्रमा धान फलेको हुन्छ। सोही धान मालिका देवीलाई चढाउने प्रचलन रहेको छ।
बडिमालिका शक्तिपिठको दर्शन तथा पूजा गर्दा चिताएको फल प्राप्त गर्ने मात्र नभई सो क्षेत्रमा रहेका समथर फाँट (२२ वटा पाटन), दह, झरना, त्रिवेणीधाम, विभिन्न प्रजातिका फूलको रमणीय प्राकृतिक दृश्यावलोकनले मनमा शान्ति र आनन्दको अनुभूति हुने स्थानीय भक्तजन धनबहादुर बोहरा बताउँछन्।
बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन स्थानीय परम्पराअनुसार एकसाथ पूजाअर्चना हुने परम्परा छ। चार बहिनीका रूपमा यी शक्तिपीठ रहेकाले एकसाथ पूजा गर्ने गरिएको मन्दिरका पुजारी भानुभक्त पाध्यायले बताए।
बढिमालिका कसरी पुग्ने
बाजुराको मध्यभागमा रहेको बडिमालिका समुद्री सतहबाट चार हजार २ सय १६ मिटरको उचाइँमा छ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाटे बुढिगंगासम्म सडक मार्ग भएर पुग्न सकिन्छ। त्यहाँबाट हिँडेर बडिमालिका पुग्न सकिन्छ।
कतिपय यात्रु भने मनोकामना पुरा हुने र मालिकादेवीको दर्शन पाइने अभिलासाका साथ घरबाटै हिँडेर बडिमालिकासम्म जान्छन्। सुदूर र कर्णालीका विभिन्न स्थानबाट एक हप्तासम्म पैदलयात्रा गरेर भक्तजन त्यहाँ पुग्छन्।
मार्तडीबाट उत्तरपूर्वतर्फ पर्ने यो क्षेत्रमा जान बुढीगंगा पार गरेपछि हिँडेर जानुपर्ने बाध्यता छ। २२ पाटन (समथर फाँट) र यी फाँटमा फुलेका दर्जनौँ प्रजातिका फूल र वरिपरिको रमणीय प्राकृतिक दृश्यले मन लोभ्याउँछ।
शक्तिपिठमा पुग्न बाटोमा तोकिएका स्थानमा तीन दिनको बसाइँ गर्नुपर्ने परम्परा छ। सोही मान्यताअनुसार जिल्लाका श्रद्धालु तीन दिनअघिदेखि नै यात्रामा निस्केका छन्। बाजुराका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले मेलामा जाने भक्तजनको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न प्रहरी टोली परिचालन गरिएको बताए।