उपसचिव सञ्जेललाई कार्यकक्षभित्रै कुटपिट गर्ने महिला कर्मचारीलाई अभद्र व्यवहारमा कारबाही हुने
श्रम तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने महिला कर्मचारीलाई अभद्र व्यवहारको कसुरमा कारबाही हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई महिला कर्मचारी नेत्र भट्टराई र मेनुका कोइरालामाथि अभद्र व्यवहारमा अनुसन्धान थालिएको हो।
दुवैलाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहार कसुरको अनुसन्धानका लागि म्याद थप गरिँदैछ।
सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले कुटपिट गरेका थिए। तीनैजनाबीच डिउटी खटाउने विषयमा विवाद भएको खुलेको छ।
विवाद भएपछि महिला कर्मचारीले सञ्जेललाई कुटपिट गरेका थिए। प्रहरीका अनुसार सञ्जेल २४ सै घन्टा कर्मचारीलाई काममा खटाउन हप्कीदप्की गर्छन्।
‘सोही क्रममा पुरुष कर्मचारीलाई चाहिँ खटाइरहने, महिलालाई चाहिँ किन नखटाउने भनी सञ्जेलले हपारेपछि महिला कर्मचारीले आवेशमा आएर कुटपिट गरेको थाहा भएको छ,’ मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने। अभद्र व्यवहार कसुरमा प्रहरीले कसुर हेरेर १५ दिनसम्म हिरासत राखी प्रशासनमा मुद्दा बुझाउन सक्ने व्यवस्था छ।