च्याउले ज्यान लिनसक्छ, चिनेर मात्रै खाऔं

च्याउले ज्यान लिनसक्छ, चिनेर मात्रै खाऔं

च्याउ विशेषज्ञ भन्छन्– च्याउले ज्यान लिन्छ, चिनेर मात्रै खाउँ

घटना १ः जाजरकोटमा मंगलबार विषालु च्याउ खाँदा चार जनाको मृत्यु भयो। त्यसमा तीनजना एकै परिवारका थिए।

घटना २ः जेठ अन्तिम साता पाल्पाको निस्दी गाउँपालिकामा विषालु च्याउ खाँदा ५ जनाको ज्यान गयो।

यी केही प्रतिनिधि घटनामात्रै हुन्। 

नेपालमा च्याउको पहिचान गर्न नसक्दा बर्सेनि धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको छ।

च्याउ उम्रिने सिजन वर्षायाम हो। यही सिजनमा सर्वसाधारणले च्याउ खान्छन् र अकालमै ज्यान गुमाउन पुग्छन्।

सबै प्रजातिका च्याउ विषालु हुँदैनन्। कतिपय च्याउ खान मात्रै नभई स्वास्थ्यका हिसाबले स्वस्थवद्र्धक र फाइदाजनक पनि हुन्छ।

च्याउमा धेरै मात्रामा प्रोटिन, मिनरल्स, एमिनो एसिड लगायतका विभिन्न प्रकारका भिटामिन पाइने हुनाले च्याउ खादा मीठो हुन्छ।

तर त्यही च्याउको प्रजाति पहिचान गर्न नसक्दा त्यसले असर गरेर ज्यान गुमाउनुपरेको घटना पनि घटिरहेका छन्।

‘केही च्याउ स्वास्थ्यका लागि फाइदाजनक भए पनि सबै च्याउ खानलायकका हुँदैन, केहीले ज्यान लिन्छ,’ च्याउ विशेषज्ञ डा. महेशकुमार अधिकारीले भने, ‘विषालु च्याउको पहिचान गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ, च्याउ कस्तो प्रकारको हो भन्ने चिनेर मात्रै खानुपर्छ।’

उनले च्याउ खानुपरे कि त विशेषज्ञको सल्लाह लिने नभए वर्षौंदेखि च्याउ उपभोग गर्दै आएका बूढापाकालाई देखाएरमात्रै खान सुझाए।

विषालु च्याउ पकाउँदा रंग फेर्ने, प्याज लसुनले रंगमा परिवर्तन ल्याउने, भाडामा पकाउँदा वा चम्चाले चलाउँदा कालो हुने च्याउ खान नहुने भनाइ रहेको भए पनि ती सबै तथ्य गलत भएको विशेषज्ञ अधिकारी बताउँछन्।

त्यस्ता रंग फेर्ने कतिपय च्याउ खान मिल्ने भन्दै अधिकारीले पहिचान नगरी खानाले धेरै समस्या भएको यथार्थता सुनाए।

‘सकेसम्म च्याउको पहिचान गरेर मात्रै खाने बानीको विकास गरौं, पहिचान गरेर खाएको च्याउने शरीरलाई फाइदा गर्छ, तर खाँदा च्याउबारेमा थाहा भएकासँग सोधपुछ गरौं,’ उनले भने।

कुनै कुनै च्याउ अत्यधिक विषालु हुने र त्यस्तो च्याउ खाए तत्काल ज्यान जानसक्ने उनले बताए। च्याउको प्रजातिअनुसार तुरुन्त या एक–दुई दिनपछि समेत मृत्यु हुने र शरीरमा विभिन्न प्रकारका दाना र टाटा आउने पाइएको उनले जनाए।
 
डा. अधिकारीका अनुसार नेपालमा हाल १३ सय प्रजातिका  च्याउ पाइने गरेका छन्। त्यसमध्ये १ सय ४७ प्रजातिका च्याउ खान मिल्छ।

च्याउ खानुभन्दा पहिले यससम्बन्धी विस्तृत जानकारी राख्नु नै च्याउ खाँदा ज्यान जाने जोखिमबाट बच्नु हो। च्याउका प्रजातिको गुण अवगुणबारे जानकारी राख्नु नै सबैभन्दा उत्तम विकल्प भएको अधिकारीको तर्क छ।

वर्षायाममा वनपाखा, बारीका कान्ला, खोलाखोल्सा, पाखोबारी, वनजंगल सबैतिर च्याउ उम्रिने भएकाले च्याउको प्रकृति पहिचान गर्न समस्या हुँदा सबै च्याउ एउटै भाँडोमा संकलन नगरी अलग–अलग भाडोमा संकलन गर्नुपर्छ।

च्याउ संकलन गर्दा विषालु पदार्थ छोइएको शंका लागेका राम्ररी हातधुने र खाने योग्य हो भन्ने थाहा भएमात्रै राम्ररी धोएर पकाउनुपर्छ।

अन्दाजको भरमा च्याउ नखाई खानैपर्ने अवस्था आएमा पहिलो पटक हो भने परीक्षणका लागि थोरै चाख्न सकिने र २४ घण्टासम्म केही असर गरेन भने खान सकिने अधिकारी बताउँछन्।

सर्वसाधारणले जंगलमा पाइने, खान हुने, नहुने र विषालु च्याउ छुट्याउन नसक्ने हँुदा च्याउलाई कहिल्यै खानाका रूपमा प्रयोग गर्नु हुँदैन।

‘च्याउ विषालु हो होइन भन्ने कुरा विशेषज्ञ वा वंशाणुगत संकलनकर्ताले मात्रै छुट्याउन सक्छ, च्याउ खानका लागि सुृरक्षित छ छैन भन्ने कुरा सर्वसाधारणलाई त.थाहा हुँदैन, थाहा नभई च्याउ सेवन नगरौं,’ विशेषज्ञ अधिकारीले सुझाव छ।
काठमाडौं उपत्यकामा मात्रै वर्षायाममा ३० भन्दा बढी प्रजातिका च्याउ बेच्न राखिएका हुन्छन्।

खान हुने भनी पहिचान भई प्रमाणित भएका जंगली च्याउहरू कृत्रिम तरिकाले व्यवसाय गर्न र खानका लागि खेती गरिएका कन्ये, गोब्रे, पराले सिताके, रातो च्याउमा प्रशस्त मात्रामा शरीरलाई चाहिने पौष्टिक तत्व पाइन्छ।

‘कुनै विशाक्त च्याउको असर खाइसकेपछि मात्रै देखिन्छ, जसले शारीरिक क्रियाप्रक्रिया र स्नायु प्रणालीमा विभिन्न समस्या निम्त्याउँछ,’ च्याउ विशेषज्ञ अधिकारी भन्छन्, ‘आफू र परिवारका लागि नचिनेको थाहा नभएको च्याउ नखाउँ।’

विषालु च्याउले के गर्छ?

विषालु च्याउले शारीरिक आलस्यता बढाउने, गल्ने, पेट आमाशय दुखाउने, वान्ता गराउने, दिशा–पिसाब धेरै लगाउने, रिङ्गटा लगाउने, पसिना निकाल्ने, शारीरिक शुष्कता बढाउने, रक्त विकृत गराउने, जिब्रो सुन्निने, श्वासनली बन्द गराउने, शरीरको तापक्रम घटाउँदै लैजाने र मृत्यु गराउने गर्छ।

अमानिटा, नक्कली गुच्छी च्याउ र साना खैरा च्याउका प्रजाति विषालु हुने हुँदा पहिचान गर्न नसके नखानु नै उत्तम मानिन्छ।

जंगली विषालु च्याउलाई किरा, लोखर्के, खरायो, कमिलाले समेत नखाने हुँदा सामान्यतया त्यस्ता च्याउ नखाने, धेरै छिप्पिएका, सडेगलेका र ओइलिएका च्याउ नखाने, काट्दा रसाउने र मसीजस्तो धब्बा देखिने च्याउ नखाने, बेमौसमी च्याउ नखाने, बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म च्याउ नखुवाउँदा नै राम्रो हुन्छ।

बिरामी परे तत्काल के गर्ने?

विषालु च्याउ खाएपछि समस्या देखिए बिरामीलाई तुरुन्त चार–पाँच गिलास मनतातो पानी खुवाउने, मुखभित्र औंला राखेर सक्दो वान्ता गराउने, दिशा लाग्ने औषधी खुवाउने, अंगारको मसिनो धुलो पानीमा मिसाई खुवाउने र बिरामीलाई छिटोभन्दा छिटो अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ।

सामान्यतया खान हुने र नहुने च्याउ हेर्दा एकैनासका देखिने भएकाले च्याउको पहिचान नगरी नखाने र विशेषज्ञको सरसल्लाह र परामर्श लिएर मात्रै खान सकिने विशेषज्ञ अधिकारीले सुझाए।


Leave a Reply

Your email address will not be published.