मेयर प्रजापतिकाे आराेप- ‘पैसाले सांसद पद खरिद गरेर नीति, निर्माता बने’

मेयर प्रजापतिकाे आराेप- ‘पैसाले सांसद पद खरिद गरेर नीति, निर्माता बने’

अपराधलाई राजनीतिकरण गर्ने र अपराधीलाई राजनीतिक संरक्षण दिने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण नहुने एक कार्यक्रमका सहभागीले औंल्याएका छन्।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आइतबार भएको कार्यक्रममा यस्तो बताइएको हो। 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अपराधीलाई राजनीतिक संरक्षण दिइरहुन्जेलसम्म भ्रष्टाचार नियन्त्रण नहुने ठोकुवा गरे।

‘राजनीति सेवा हो, सांसद खरिदबिक्री गर्ने थलो होइन। पूँजीपतिले राजनीति नगरे पनि पैसाले सांसद पद खरिद गरेर नीति, निर्माता बनेका छन्,’ प्रजापतिले भने।

उनले ख्वप माध्यमिक विद्यालयले लकडाउनको विषम् परिस्थितिमा पनि विद्यार्थीलाई अनलाइन माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गरेको र शैक्षिक उन्नयनका लागि फलदायी हुने सुनाए।

ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीको भेलामा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले जनताबीच गरेको प्रतिबद्धता ढिलो,चाँडो पूरा गर्ने बताए।

ख्वप कलेजका प्राचार्य रूपक जोशीले कलेजले देशभरिका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको चर्चा गरे। उनले नगरपालिकाद्वारा सञ्चालित सबै कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको दाबी गरे।

ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमणका कारण शैक्षिक संस्था बन्द रहेको अवस्थामा ख्वप माध्यमिक विद्यालयले विद्यार्थीलाई पठनपाठनमा अभ्यस्त तुल्याउन अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरी परीक्षा पनि लिइरहेको बताए।

उनले अनलाइन कक्षामा शिक्षकलाई गम्भीरताका साथ तयारी भइदिन र प्रविधिसँग सहजीकरण गर्दै विद्यार्थीसँग सम्पर्कमा रही पठनपाठनको लागि आग्रह गरे।
 


Leave a Reply

Your email address will not be published.