तीन घन्टा चलेको प्रचण्ड–ओली बैठक निष्कर्षविहीन

तीन घन्टा चलेको प्रचण्ड–ओली बैठक निष्कर्षविहीन

पार्टीभित्र चलिरहेको विवाद समाधान तथा छलफलको वातावरण तयार पार्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बसेको आजको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ।

बिहान पौने १० बजदेखि सुरु भएको बैठक तीन घण्टासम्म चले पनि आन्तरिक गतिरोध अन्त्यका लागि बैठक आह्वान गर्ने विषयमा सहमति नजुटेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालको पनि सहभागिता थियो। 

स्थायी कमिटी बैठक स्थगित गरेपछि बोलचाल बन्द भएका दुई अध्यक्षबीच पार्टीभित्रको आन्तरिक विवाद समाधानको वातावरण बनाउन भन्दै प्रचण्ड झलनाथ खनालसहित आइतबार बिहान बालुवाटार पुगेका थिए। बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि थिए।  

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) ले आइतबारदेखि पार्टीभित्रको विवाद समाधानका लागि छलफल सुरु भएको बताए। स्रोतका अनुसार कुनै ठोस सहमति नभए पनि दुवै अध्यक्षले पार्टीभित्रको विवाद समाधान गर्नुपर्नेमा सहमति जनाएका छन्।


Leave a Reply

Your email address will not be published.