प्लाज्माथेरापी सुरुआतमै आशलाग्दो, टिचिङका संक्रमितमा ७० प्रतिशत सुधार
नेपालमै पहिलोपटक कोरोना संक्रमित बिरामीको उपचारमा प्लाज्मा थेरापी विधिको प्रयोग गरिंदा सकरात्मक नजिता देखिएको चिकित्सकहरुले बताएका छन्।
कोभिड–१९ महामारी नियन्त्रणमा एउटा बलियो विकल्पका रुपमा विभिन्न देशमा परीक्षण भइरहेको यो पद्धतिलाई नेपालमा एक संक्रमितमाथि प्रयोग गरिएको हो। विराटनगरबाट ल्याइएका ६५ वर्षीय संक्रमित स्वास्थ्यक्षेत्रसँग नै सम्बन्धित छन्।
व्यक्तिगत स्वास्थ्य संवदेनशीलतालाई कारण देखाएर चिकित्सकहरुले संक्रमित र प्लाज्मा दिने दुवै जनाको परिचय गोप्य राखेको छ।
त्रिवि शिक्षण अस्पतालमा ९ दिन अगाडि भर्ना गरिएको संक्रमितलाई कोराना उपचारका सबैखाले ‘भाइरल र व्याक्टेरियल’ औषधी प्रयोग गरिंदा खास सुधार नभएपछि ४८ घण्टाअगाडि प्लाज्मा थेरापी दिइएको थियो। डा. सुवास आचार्य नेतृत्वको टोलीले उक्त थेरापी थालेको हो।
प्लाज्मा दिएको ४८ घण्टापछि निकै सुधार आएको अस्पताल कोभिड युनिट संयोजक डा. सन्तकुमार दासले जानकारी दिए। डा. दासकाअनुसार संक्रमण जितेर व्यक्तिको शरीरबाट रगत झिकेर त्यसबाट आरबिसी र प्लेटलेट निकालेर प्लाज्मा बनाइन्छ।
कोभिड उपचारमा अस्पतालका आइसियु व्यवस्थापन संयोजक डा. आचार्यकाअनुसार ती बिरामीको उपचारमा भाइरल र ब्याक्टेरियाल सबै विधि प्रयोग गर्दा पनि अपेक्षित सुधार नआएपछि प्लाज्माथेरापी गरिएको थियो।
‘५ दिनसम्म सुधार नभएसँगै कोडिभ मेनेजमेन्ट टिम बसेर स्वास्थ्य अनुसन्धान परिषद्को परामर्श गरेर डोनर खोजेर यो विधिमा जाने निर्णय गर्यौं’ डा. दासले भने।
डा. आचार्यका ती विरामीको उपचारमा अस्पतालले भारतबाट झिकाएर रेन्डेसिभीर एन्टिभाइरल औषधि समेत चलाएको थियो।
‘उहाँ अस्पताल आउँदा ९० प्रतिशत अक्सिजन सपोर्ट चाहिने अवस्था थियो, अहिले २४ देखि २८ प्रतिशत अक्सिजन सपोर्टमा हुनुहुन्छ’ डा. दासले भने, ‘एक्सरेमा हेर्दा निमोनियासमेत ७० सुधार आइसकेको छ।’
डा. दासका अनुसार ती विरामीलाई एक÷दुई दिनमै वार्डमा सार्न सकिने अपेक्षा गरिएको छ।