जनकपुरसहित प्रदेश २ को पाँच ठाउँमा निषेधाज्ञा

जनकपुरसहित प्रदेश २ को पाँच ठाउँमा निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश २ को अस्थायी मुकाम जनकपुरसहित पाँच स्थानमा निषेधाज्ञा आदेश जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रदेश २ को वीरगंज, राजविराज र जलेश्वरमा यसअघि निषेधाज्ञा जारी भइसकेको छ भने बाराको कलैयामा आइतबारदेखि जारी गरिएको छ। यता प्रदेश २ को अस्थायी मुकाम जनकपुरमा भने सोमबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ।

उपमहानगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि निषेधाज्ञा आदेश जारी गरेको हो।

पछिल्लो केहिदिनयता उपमहानगर क्षेत्रभित्र कोरोना संक्रमणको दर बढ्दै गएपछि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन्।

उनले पूर्व, पश्चिम र दक्षिणमा उपमहानगर क्षेत्र र उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको औरही पुलको सीमासम्म निषेधाज्ञा आदेश लागू गरिएको जानकारी दिए। निषेधाज्ञा अवधिभर तोकिएका व्यक्तिबाहेक अन्य बाहिर निस्कन नपाउने छैनन्।

निषेधाज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, सञ्चार सेवा, बैंकिङ्ग सेवा, खानेपानी, इन्धन, विद्युत सेवालगायतका बाहेक अन्य सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उनले बताए।

यता सिरहामा निषेधाज्ञा लागू नभए पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताएका छन्। ‘निर्णय गरेर औपचारिक रुपमै निषेधाज्ञा नभनिए पनि हिँडडुल, सवारी साधन, सञ्चालनलगायतमा कडाइ गरेका छौं,’ कँडेलले भने।

उनका अनुसार सिरहामा हाट बजार लगाउन रोक लगाइएको छ भने भीडभाड नियन्त्रण गर्न कुन दिन कुन सेवा प्रदान गरिने यसबारे सरकारी कार्यालयहरूलाई सूचना प्रकाशन गरी सेवाग्रहीलाई जानकारी गराउन भनिएको छ।

यसैगरी सामाजिक दूरी कडाइसाथ पालन गर्दै व्यवसायीहरूलाई पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण सामग्री प्रयोग गर्न निर्देशन दिइएको उनले बताए। उत्तरायण र साउन महिनामा लाग्ने सम्पूर्ण मेलामाथि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published.