‘शिक्षक अपुग हुँदा पठनपाठन गर्न असहज’

‘शिक्षक अपुग हुँदा पठनपाठन गर्न असहज’

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिले नगरभित्र रहेका विद्यालयहरूको विद्यालय, शिक्षक र भौतिक अवस्थाको विरण बुझाएको छ।

आधारभूत विद्यालय अवलोकनका क्रममा समष्टिगत रुपमा प्राप्त भएको विवरण  शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाले नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन्।

लकडाउनमा शिक्षक हाजिरी, शिक्षण सिकाइ र शिक्षकहरूको तालिम विवरणलगायत विषयक समेटिएको प्रतिवेदन नगरप्रमुखलाई बुझाइएको हो। 

प्रतिवेदनमा भक्तपुर जिल्लाभित्रका आधारभूत विद्यालयमा विद्यार्थी संख्यामा कमी आएको, भक्तपुर नगरपालिका भित्र ५५ दरबन्दी रिक्त रहने पनि ति दरबन्दीमा नियुक्ति गर्न नदिइएको विषय समेटिएको छ। 

शिक्षक अपुग भएकाले कक्षा सञ्चालनमा असहज भएको विषय पनि प्रतिवेदनमा उल्लेख छ। 

विद्यालयमा शैक्षिक सुधार गर्न शिक्षकहरूलाई तालिम दिनुपर्ने, शिक्षक दरबन्दी  पर्याप्त हुनुपर्ने, विद्यालयहरूमा लेखा सहायकको व्यवस्था हुनुपर्ने, आवश्यकता हेरी विद्यालयहरूको स्थानान्तरण गर्नुपर्नेलगायतका सुझाव प्रतिवेदनमा छन्।

प्रतिवेदनमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु कक्षाजस्तै अन्य आधारभूत विद्यालयमा शिशु कक्षा नर्सरी, एलकेजी, एसकेजी कक्षालाई व्यवस्थित गरी शिक्षक उपलब्ध गराउनुपर्ने विषय समेटिएको संघका अध्यक्ष थुसाले बताए।

'नगरपालिका भित्रका सम्पूर्ण प्राथमिक विद्यालयका दरबन्दीलाई कायम गर्न नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने, नगरभित्रका आधारभूत तहको नतिजा मूल्याङ्कन गरी राम्रोलाई पुरस्कार र बाँकीलाई सुधार गर्न प्रोत्साहन गर्नुपर्ने छ', प्रतिवेदनमा भनिएको छ।

विद्यालयहरूको कक्षा कोठा समयानुकुल बालमैत्री र आकर्षक बनाउनुपर्ने, वार्षिक योजनासहितको बजेट अनिवार्य बनाउन दिनुपर्ने विषयलाई पनि सुझावको रुपमा प्रतिवेदनमा समेटिएको छ। 

प्रतिनिधिमण्डलमा संघका ज्ञानसागर प्रजापति, अम्बिका न्याइच्याइँ, शिवराम बोहजु, दिपक माक, विष्णुप्रसाद दुमरुलगायतको उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published.