मिर्गौला प्रत्यारोपण प्रकरण : वडाध्यक्षसहित तीन चिकित्सकविरूद्ध पाँच वर्ष कैद
प्रहरीले नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले संलग्न चिकित्सक तथा ललितपुर महानगरपालिका-३ का वडाध्यक्षसहित २१ जनाविरूद्ध ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आइतबार २१ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको हो।
परिसरका अनुसार मिर्गौला किनबेचमा संलग्न १४ जना पक्राउ परेका छन्, सात जना फरार छन्।
उनीहरू सबैलाई शरीरको मानव अंग प्रत्यारोपण ऐन २०५५ अनुसार पाँच वर्षसम्म कैद तथा जरिवाना मागेर प्रारम्भिक राय बुझाइएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
‘हामीले आफ्नो अनुसन्धान प्रतिवेदन (राय) वकिलको कार्यालयमा बुझाएका छौं, सरकारी वकिलले प्रारम्भिक राय अध्ययन गरी मुद्दा अभियोजन गर्ने छ,’ तामाङले भने।
गत असार २८ गते पहिलो चरणमा ललितपुर महानगर-३ का वडाध्यक्ष श्रीगोपाल महर्जनसहित १२ जनालाई मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको थियो। त्यसपछि थप दुई जना पक्राउ परेका थिए।
चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सकलगायतलाई प्रतिवादी बनाई अनुसन्धान थालिएको थियो।
५५ वर्षे एक पुरुषका लागि नक्कली भान्जा बनाएर ती व्यक्तिको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा ब्युरोले चितवन र काठमाडौं उपत्यकाबाट उनीहरूलाई पक्रउ गरेको थियो।
पक्राउ परेका प्रत्यारोपण सर्जन डा. राकेश बर्मा, अस्पतालका सिइओ डा. सुप्रभात श्रेष्ठ, अस्पतालको समितिका संयोजक डा. बालकृष्ण कालाखेतीसहित २१ जना संलग्न रहेको ललितपुर परिसरले जनाएको छ।
पक्राउ पर्ने अन्यमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले थिए। जिल्ला प्रशासन कार्यलय ललितपुरका दुई कर्मचारी पनि संलग्न छन्।
वास्तविक भान्जा विदेशमा भए पनि कागज पत्र तयार पारी फोटोसमेत टाँसेर दाताबाट मिर्गौला किनबेच गरेको अभियोग उनीहरूलाई छ।
प्रहरीले अंग किनबेचनमा मध्यस्तता गरेको आरोपमा पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थपलिया, पूर्वप्रहरी हिम प्रसाईं र रेश्मा राईलाई समेत पक्राउ गरेको थियो।
ब्युरोले उक्त कसुरको अनुसन्धान गर्न ललितपुर परिसरमा प्रतिवादीसहित बुझाएको थियो।