मेलम्चीमा पहिराे, कर्भडहल बनाउन आएका आठ मजदुर बेपत्ता

मेलम्चीमा पहिराे, कर्भडहल बनाउन आएका आठ मजदुर बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ गौराबगरमा पहिरो खस्दा आठ जना मजदुर बेपत्ता भएका छन्।

सोमबार बिहान दुई बजेतिर पहिरो खस्दा कर्भडहल निर्माणका लागि गौराबगरमा रहेका नौ जना पुरिएकोमा एक जनाको उद्धार भएको छ।

पहिरोमा पुरिएकामध्ये एक जनाको तीन घन्टापछि उद्धार गरिएको थियो।  याे ठाउँ मेलम्ची बजारमै पर्छ।

प्रहरी निरीक्षक खलबहादुर तामाङका अनुसार ती मजदुर तराईबाट आएको बताइए पनि परिचय खुलेको छैन।

पहिरोमा बेपत्ता हुनेमा ठेकेदार पनि रहेको आशंका गरिएको र सबैको खोजबिन भइरहेको तामाङले जनाए।

नगरपालिकाको कर्भडहल निर्माणमा खटिएका उनीहरू नजिकै अस्थायी टहरो बनाएर बसेका थिए। तर, आइतबार राति परेको अविरल वर्षासँगै पहिरो खस्दा उनीहरू बेपत्ता भएका हुन्।

‘ठाउँ हेर्दा पहिरो खस्ने जस्तो भिरालो ठाउँ त होइन, तर लगातारको झरीसँगै पहिरो जाँदा घटना भएको देखिन्छ,’ प्रहरी निरीक्षक तामाङले भने।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति मुलुकभर भारी वर्षा भएको छ। वर्षासँगै तराईमा बाढी र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भन्दै सचेत रहन आह्वान गरिएको छ। 


Leave a Reply

Your email address will not be published.