उल्लासका साथ रक्षाबन्धन मनाइँदै 

उल्लासका साथ रक्षाबन्धन मनाइँदै 

भाइ–बहिनीको पवित्र पर्व रक्षाबन्धन सोमबार जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा उल्लासपूर्वक मनाइँदै छ। 

दिदी–बहिनीले दाइ र भाइलाई हातमा राखी बाँधेर रक्षाबन्धन मनाइन्छ। 

राखीलाई भाइले दिदी–बहिनीलाई हरेक जटिल एवं विपरित परिस्थितिमा रक्षा गर्ने प्रतिज्ञाको कंगनको रुपमा समेत लिइन्छ। 

आत्मसम्मान तथा रक्षा गर्न दिदी–बहिनीले आफ्नो दाइ–भाइलाई राखी बाँध्ने गर्छिन्। यस अवसरमा दिदी–बहिनीले दाइभाइलाई मिष्ठान, फलफूललगायतका मिठो खानेकुरा खुवाउने गर्छिन्। 

राखी बाँधिसकेपछि दाइभाइले उपहारस्वरुप गरगहना, लत्ताकपडा, रुपैयाँलगायतका सामग्री दिदी–बहिनीलाई कोसेली दिने गर्दछन्। 

पौराणिक कथाअनुसार दैत्य र देवताहरु युद्धमा इन्द्रदेव आसुरी शक्तिबाट परास्त भएपछि आफ्नो दैवी राज्य गुमाइसकेका थिए। 

त्यसपछि उनकी श्रीमती ईन्द्रायणीले इश्वरलाई साक्षी राखेर पवित्रता र अध्यात्मिक शक्तिको प्रतिकस्वरुप राखी बाँधेकी थिइन्। 

फलस्वरुप ईन्द्र आसुरी शक्तिलाई परास्त गरेर आफ्नो राज्य र सम्पत्ति प्राप्त गर्न सफल भएको पौराणिक मान्यता रहेको छ। 

रक्षाबन्धनमा किनमेल गर्न अन्य वर्षजस्तो जनकपुरसहितका बजार क्षेत्रमा भने भीडभाड देखिएको छैन। 

कोरोना महामारीका कारण रक्षाबन्धनको लागि किनमेल गर्नेको संख्यामा कमी देखिएको हो। 

रक्षाबन्धनलाई मध्यनजर गरी यसअघि ठूलो संख्यामा राखी पसलहरु सञ्चालन हुँदै आइरहेपनि यसवर्ष भने यसमा कमी देखिएको छ।


Leave a Reply

Your email address will not be published.