झापामा धमाधम सिल र निषेधाज्ञा  

झापामा धमाधम सिल र निषेधाज्ञा  

झापाका स्थानीय सरकारले धमाधम पालिका सिल र निषेधाज्ञा जारी गर्न थालेका छन्। बाहिर कतै नगएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि झापामा पालिकास्तरमा सिल र निषेधाज्ञा जारी गर्ने क्रमले निरन्तरता पाएको हो।

झापामा साउन १२ गतेदेखि बाह्रदशी गाउँपालिका सिल छ। आवागमन बन्द छ। अर्जुनधारा नगरपालिका शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ। बिना अनुमति कोही कहीं जान पाँउदैन। 

हिजाे मध्यरातदेखि बिर्तामोड नगरपालिकामा लकडाउन घोषणा गरेको छ। कोरोना संक्रमण समुदायसम्म फैलिसकेका कारण त्यसको नियन्त्रणका लागि स्थानीय सरकारले अनिश्चितकालका लागि बन्दाबन्दी घोषणा गरेका हुन्। 

अर्को सूचना जारी नभएसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको सार्वजनिक सूचना जारी गरेर स्थानीय सरकार अघि बढिरहेका छन्।यातायात, बजार, बैंक, वित्तीय संस्था सबै बन्द छन्।

बाह्रदशीमा एकजना राजनीति नेता र मेडिकल सञ्चालकलाई कोरोना देखिएपछि सिल गरिएको हो। 

अर्जुनधारामा काठमाडौं गएर फर्किएका सिम्लेका युवामा कोरोना देखिएपछि निषेधाज्ञा जारी गरिएको हो। भारत गएर फर्किएकी बिर्ताबजारकी महिला प्रहरीमा कोरोना देखिएपछि बिर्तामोडमा लकडाउन घोषणा गरिएको हो।

यसैबीच बिर्तामोडको बजरंग मेडिकल हल सिल गरिएको छ। त्यहाँ कोरोना संक्रमण देखा परेकी महिला प्रहरीले उपचार गराएका कारण सो मेडिकल हल सिल गरिएको हो।

केही दिनदेखि ज्वरो आएपछि प्रहरी चौकी बिर्ताबजारकी २४ वर्षीया ती महिला प्रहरीले बजरंगमा उपचार गराएकी थिइन्।


Leave a Reply

Your email address will not be published.