कोरोनाको जोखिम झनझन् बढ्दोः पठनपाठन कहिले र कसरी?

कोरोनाको जोखिम झनझन् बढ्दोः पठनपाठन कहिले र कसरी?

झापाको भद्रपुर नगरपालिकाले नगरका केही सामुदायिक विद्यालय असार १३ गतेबाट सञ्चालन गर्‍याे। 

लकडाउनले विद्यार्थीको सिकाइमा असर परेको भन्दै नगरले स्वास्थ्य सुरक्षा व्यवस्थासहित सुरु गरेको पठनपाठनलाई निरन्तरता दिन सकेन। अन्ततः साउन १६ गतेबाट बन्द गरियो।

करिब एक महिना कक्षा सञ्चालन भएपछि गत शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यालय सञ्चालन गर्दा कोरोना भाइरसको संक्रमण फैलिन जोखिम रहेको भन्दै विरोध गरेकाे थियाे।

विरोधपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले विद्यालय बन्द गर्न लिखित निर्देशन दिएपछि साउन १६ गतेबाट पठनपाठन बन्द गरिएको छ।

‘लामो समयदेखिको लकडाउनले बालबालिकाको सिकाइमा असर परेकाले सिकाइलाई निरन्तरता दिन विद्यालय खोलेका थियौं, सिडिओ’सापले विद्यालय बन्द गर्न लिखित आदेश आएपछि हाम्रो केही लागेन,’ भद्रपुर नगरपालिकाका मयेर जीवन श्रेष्ठले आयोमेलसँग भने।

कपिलवस्तुको शिवराज नगरपालिकाले असार १६ गतेबाट बालबालिकालाई आलोपालो उपस्थित गराएर वैकल्पिक सिकाइ सहजीकरण सुरु गर्‍याे। तर, यो विधि पनि टिक्न सकेन।

‘आधा/एक घन्टा बालबालिकालाई पुनर्ताजकी गराउने उद्देश्यले आलोपालो पठनपाठन थालेका थियौं। तर, कोरोना फैलिने भन्दै अभिभावकबाट गुनासो बढेपछि आधा महिनामै बन्द गर्नु पर्‍याे,’ शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले भने।

नगरपालिकाले व्यवस्थापन राम्रो भएका आधा दर्जन विद्यालय सञ्चालन गरेको थियो।

‘लकडाउनको अवधिमा पनि सुरक्षित हिसाबले विद्यालय सञ्चालन गर्न खोजिरहेका थियाैं,’ उनले भने, ‘यसबाट बालबालिकालाई फाइदा भइरहेको थियो, तर स्थानीयको विरोधपछि बन्द गर्नुपर्ने अवस्था आयो।’ 

गत वर्षको वार्षिक परीक्षा पनि आकस्मिक रूपमा दिएर घर बसेका बालबालिकाले विद्यालय नदेखेको पनि साढे चार महिना कटेको छ। 
अवस्था सामान्य हुँदो हो त बालबालिका नयाँ कापीकिताबसहित विद्यालयमा रमाइरहेका हुन्थे।

गत वैशाखै सुरु हुनुपर्ने भर्ना कोरोना संक्रमणका कारण चार महिना टर्‍यो। अझैं शैक्षिक सत्र ०७७/०७८ औपचारिक रुपमा सुरु भएको छैन।  

सहरमा रहेका तथा प्रविधिको पहुँच पुगेका केही विद्यालयले अनलाइन प्रणालीबाट पठनपाठन थाले पनि अधिकांश विद्यार्थीले पढन पाएका छैनन्। 

केही विद्यालयले बैकल्पिक शिक्षण विधि भनेर आलोपालो, घुम्ती कक्षा सञ्चालन गरेपनि आधा एक महिनामै बन्द भएका छन्।

झापाको भद्रपुर, कपिलबस्तुको शिवराज नगरपालिकाले थालेको शिक्षण प्रणाली त्यसको उदाहरण हो।

पछिल्लो पटक मन्त्रिपरिषद्को साउन ५ गतेको बैठकले भदौ १ गतेदेखि भर्ना खोल्ने निर्णय गरेको छ। त्यसका लागि अब विद्यालय भवन क्वारेन्टाइनमा प्रयोग नगर्ने निर्णय गरिएको छ। 

तर, कोरोना संक्रमितको संख्या २० हजार नाघिसकेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको अवस्थामा विद्यालयको पठनपाठन अनिश्चितजस्तै बनेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्, ‘भदौ १ गतेबाट भर्ना सुरु हुन्छ। तर, यति नै गतेबाट पठनपाठन सुरु हुन्छ, भनेर भन्न सकिने अवस्था छैन। परिस्थिति सहज नहुन्जेलसम्म पठनपाठन सुरु गर्न सकिँदैन।’

मन्त्रालयका अधिकारी पठनपाठन कहिलेबाट र कसरी सुरु गर्न सकिन्छ भनेर शिक्षाविद्, जनस्वास्थ्यविज्ञ, प्याब्सन, एनप्याब्सनका पदाधिकारी, शिक्षक संघसंगठन र अभिभावकका प्रतिनिधिसँग छलफल गरिरहेका छन्।

प्रवक्ता शर्मा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठन गर्नुपर्ने भएकाले अबको एक हप्ताभित्र मापदण्ड निर्माण गरिने बताउँछन्। सरकारले भर्नाको बाटो खोलेपछि निजी विद्यालयले भने पठनपाठनको तयारी समेत थालेका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘सरकार मापदण्ड निर्माणमा ढिलाइ गरिरहेको छ, हामी भर्नासँगै पठनपाठन सुरु गर्न आतुर छौं।’

लकडाउन खुलेसँगै अन्य क्षेत्रले विस्तारै गति लिए पनि शिक्षा क्षेत्र बन्द रहेकाले यसबारे सरकारले गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ। ‘सरकारले मापदण्ड निर्धारण गरिदिए अतिरिक्त कक्षा लिएर पनि पाठ्यक्रम सक्ने’ उनले जानकारी दिए।

सामान्यतः सरकारले वैशाखमा १५ दिन भर्ना अवधि दिन्थ्यो। त्यसछि नियमित पठनपाठन सुरु हुन्थ्यो। तर, यसवर्ष कोरोनाका कारण शैक्षिक क्यालेन्डर समेत पछाडि धकेलिएको छ। 

प्याब्सन र एनप्याब्सनले अनलाइन तथा अन्य माध्यमबाट अहिले पनि पठनपाठन जारी राखेकाले एक वर्षको पाठ्यक्रम अनुसार नै पठनपाठन गर्न सकिने उनले बताए। तर, अनलाइन कक्षा नै  सुरु नगरेका तथा दर्गमका विद्यालयले यो वर्षको शैक्षिक क्रियाकलाप कसरी व्यवस्थापन गर्छन अझैं टुंगो छैन।

‘अब सबै परीक्षा लिन सम्भव छैन। अर्धवार्षिक र वार्षिक परीक्षा मात्र लिन्छौं, यसबारे सरकासँग छलफल भइरहेको छ,’ पुरीले भने। अध्यक्ष पुरी कोरोनाको जोखिम कम भएका स्थानमा पठनपाठन सुरु गर्न सकिने अवस्था रहे पनि जोखिमयुक्त ठाउँमा समस्या रहेको देख्छन्।

शिक्षाविद् डा. विद्यानाथ कोइराला विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएर सहज रुपमा कक्षा चलाउन सकिने बताउँछन्। 

कोइरालाले स्वास्थ्य सुरक्षाको जोखिम भएका र नभएका ठाउँको पहिचान गरी जोखिम भएका ठाउँमा शिक्षकको कोरोना परीक्षण गरी विद्यालय खुलाउन सकिने बताए।  

उनले जोखिम कायमै रहेमा निरन्तर वैकल्पिक प्रणाली, स्वयंसेवक परिचालन, टोलटोलमा शिक्षक परिचालन आदि तरिकाबाट नै सिकाइ निरन्तरता दिन सकिने बताका छन्।

संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष होमकुमार थापाले कोरोनाका कारण शैक्षिक क्यालेण्डर प्रभावित हुँदा परीक्षामा नै असर गरेको बताए।

‘हामी चार महिना ढिला भइसक्यौं। अब कसरी विद्यालयमा पठनपाठन गर्न सकिन्छ भनेर बाटो खोज्नुको विकल्प छैन,’ उनले भने।


Leave a Reply

Your email address will not be published.